समाचार

सप्तरी प्रहरीद्वारा चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक, ६९० प्रहरी परिचालन गरिने

कञ्चनरुप ,१७ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले चाड पर्व लक्षित आफ्नो सुरक्षा योजना आज सार्वजनिक गरेको छ । दशैँ, तिहार तथा छठ पर्व लक्षित सप्तरी प्रहरीले आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो ।
चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि जिल्लाभर ६ सय ९० जना प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गजुसिद्दि बज्राचार्यले जानकारी दिनुभयो । जिल्लाभर शान्ति, सुरक्षा कायम गर्न कार्यरत अधिकतम प्रहरी जनशक्ति, सवारी साधन लगायतका श्रोत साधनहरू परिचालन गरिने समेत जनाइएको छ ।
उहाँले कुनै पनि अपराधिक घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने गरी प्रहरी परिचालन गर्ने किसिमले सुरक्षा योजना बनाइएको बताउनु भयो । त्यसका निम्ति पोशाक तथा सादा पोशाकका ६ सय ९० प्रहरी खटिने उहाँले जानकारी दिनुभयो ।
अपराध नियन्त्रणका लागि पैदल, साइकल, मोटरसाइकल, पेट्रोलिंग गाडी, पिकेट, क्यूआरटी, एम्बुस परिचालन गरिने र प्रमुख चोकहरुमा चेकिङको व्यवस्था मिलाइनेछ, प्रहरी उपरीक्षक बज्राचार्यले भन्नुभयो, रिजर्भ टोली, स्टेण्डबाई टोली र कमाण्ड पोष्टको व्यवस्था गरी २४ औं घण्टा सुरक्षा व्यवस्था मिलाइनेछ ।
चाडपर्वको समयमा सामाजिक अपराध, चोरी, बलात्कार, मानव बेचबिखन, जुवाजन्य खेलहरु, पिक पकेटिङ, लुटपाट, मदिरा सेवन, कालोबजारी लगायतका घट्नामा वृद्धि हुने हुँदा समुचित ढँगले प्रहरी परिचालन गरिने एसपी बज्राचार्यले बताउनु भयो ।
विषेश सुरक्षा योजनामा सिमानाकामा कडाई, यात्रु सहायता कक्षको स्थापना गरी यात्रुसँग बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलाई कारबाही गर्ने योजना बनाएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाभरि रहेका सबै प्रहरी युनिटले अन्य सुरक्षा निकायसँग समन्वय गरी सवारी व्यवस्थापन, आर्थिक कारोबार हुने स्थानहरुको सुरक्षा, मदिरा नियन्त्रण, मेला पर्व तथा विशेष धार्मिक स्थलको सुरक्षा, सीमावर्ती अपराध तथा भन्सार छली, चोरी तस्करी नियन्त्रण गर्ने, यात्रु सहायता कक्ष निर्माण गर्ने, झैं–झगडा, जुवातास, मापसे नियन्त्रणमा समन्वय र सहकार्य गर्ने चाडपर्व लक्षित सुरक्षा योजना बनाइएको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page