उदयपुर, असोज ६ गते । उदयपुरको कटारी नगरपालिका-१० स्थितमा आमा र छोराको हत्यामा संलग्न रहेका एक पक्राउ परेका छन । कटारी नगरपालिका-१० का ३३ वर्षीय तारा बहादुर मगरलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको हो ।
कटारी नगरपालिका-१० सोरूङछबिसे स्थित घर नजिकै कोठा भाडा लिई किराना पसल गर्दै आएकि ३७ वर्षीय निर्मला थापा र उनको ६ बर्षीय छोरा आरुष थापा भदौ २० गते सुत्ने कोठामा मृत अबस्थामा फेला परेका थिए ।
दुबै जनालाई धारिलो हतियार खुकुरीको प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आए संगै जिल्ला प्रहरी कार्यालय उदयपुर र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोज तलासको क्रममा हत्यामा संलग्न रहेका मगरलाई असोज २ गते उनकै घरबाट पक्राउ गर्न सफल भएको हो ।
घटनामा संलग्न रहेका अभियुक्त तारा बहादुर मगरले दुवै जनालाई शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको र मृतकले प्रयोग गर्ने मोवाइल फोन सोरुङछबिसे खोलामा फालि फरार भएका थिए ।
प्रहरीले खोजतलासको क्रममा घटनामा प्रयोग भएको खुकुरी उनकै घरबाट बरामद गरेको थियो भने मृतकको मोवाइल फोन सोरुङछबिसे खोलामा फुटेको अवस्थामा फेला पारेको थियो ।
हत्या आरोपमा पक्राउ परेका मगरको सम्मानित उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।