समाचार साहित्य / लेख रचना

लघुकथा प्रतिष्ठान नेपालद्वारा उत्कृष्ट पन्द्रह लघुकथा छनौट

राजविराज । लघुकथा प्रतिष्ठान नेपालद्वारा आयोजित लघुकथा प्रतियोगिताअन्तर्गत उत्कृष्ट १५ लघुकथा छनौट गरिएको छ ।
सामाजिक सञ्जालमा सञ्चालित प्रतिष्ठानद्वारा तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित लघुकथा प्रतियोगिताको प्रथम चरणबाट उत्कृष्ट १५ लघुकथाको छनौट गरिएको हो ।
प्रकृति केन्द्रित उत्कृष्ठ लघुकथाको खोजीमा रहेको प्रतिष्ठानले भदौ १८ देखि असोज १८ गतेसम्म लघुकथा पोष्ट गर्न आह्वान गरेको थियो । प्रतिष्ठानले तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गर्न लागेको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो ।
यिनै लघुकथाहरू मध्ये एक सर्वोत्कृष्टलाई तीन हजार रूपियाँ नगदसहित सम्मानोपहार प्रदान गरिने प्रतिष्ठानकी व्यवस्थापक सदस्य रचना शर्माले जानकारी दिनुभएको छ ।
कथावस्तु, रूपविधान, संरचना, विषयवस्तुको नवीनता, भाषिक प्रवाह, विषयको सर्वकालिकता, कथावस्तुले उत्पन्न गराउने कौतूहलता, विचार तथा सामाजिक पक्षका आधारमा उत्कृष्ठ ठहरिएका प्रकृतिको सेरोफेरोमा सिर्जित लघुकथाहरूलाई ‘उत्कृष्ठ १५’ मा समेटिएको निर्णायकहरूले बताउनु भएको छ ।
पहिलो चरणमा उत्कृष्ठ ठहरिएका १५ लघुकथा मुख्य निर्णायकलाई जिम्मा लगाइएको र सोही मध्येबाट ‘सर्वोत्कृष्ट’को छनौट गरिने व्यवस्थापक मनोहर पोखरेलले बताउनु भएको छ । उत्कृष्ट १५ लघुकथाबाट विशेष निर्णायक समितिले ‘सर्वोत्कृष्ट लघुकथा’को घोषणा तेस्रो वार्षिकोत्सवको अघिल्लो दिन कात्तिक २ गते गरिने व्यवस्थापक सदस्य एञ्जल निलुले जानकारी दिनुभयो ।
वि.स. २०७८ कात्तिक ३ गते स्थापित प्रतिष्ठानले निरन्तर एकै दिन नबिराई १ हजार ९३ श्रृङखला लघुकथा वाचनविमर्श गराइसकेको छ । लप्रनेका सञ्चालक समितिका सदस्य लक्ष्मी रिजालले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा सहभागी सबै लघुकथाहरू सन्दर्भ पत्रिकाको नयाँ अङ्कमा समेटिने छ । उक्त अवधिमा पोस्ट भएका चार दर्जन प्रतियोगी र सोही संख्यामा सहभागी अप्रतियोगी लघुकथा समेटी ’सन्दर्भ’ पत्रिका प्रकाशन हुने छ ।
लघुकथामा लप्रने निरमलन समूह नामक समूहले व्यवस्थापन गर्दै आएको प्रतिष्ठानले विगतमा समेत विविध प्रतियोगिता सञ्चालन गर्दै आएको थियोे । विगतका प्रतियोगितामा चट्याङ मास्टर र प्रा.डा.मुकेश चालिसेद्वारा पुरस्कार प्रायोजन गरिएको थियो । तेस्रो वार्षिकोत्सवको पुरस्कार सुनसरी निवासी हाल लन्डनलाई मुकाम बनाउनुहुने रुद्र अधिकारी ’निर्दोषी’ले प्रायोजन गर्नुभएको हो । हालै उहाँको लघुकथा सङ्ग्रह ’दृष्टि’ प्रकाशन भएको छ । नेपाली पाठक माझ लघुकथा विधामा उहाँ मौलिक छाप छाड्न सफल हुनुहुन्छ ।
भिन्नभिन्न सन्दर्भ अभियानमार्फत उत्कृष्ट लघुकथा घोषणा गर्दै, प्रशिक्षण दिँदै, सम्मान गर्दै लघुकथा प्रतिष्ठान, नेपाल आगामी कात्तिक ३ गतेदेखि तेस्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गर्दैछ ।
व्यवस्थापक सदस्य नन्दलाल आचार्यबाट प्राप्त जानकारी अनुसार लघुकथा प्रतिष्ठान, नेपालको तेस्रो वार्षिकोत्सवको अवसरमा प्रेषित प्रकृति केन्द्रित प्रतियोगी लघुकथाहरू मध्ये प्रथम चरणबाट छानिएका उत्कृष्ट १५ लघुकथा यस प्रकार छन् –
उत्कृष्ट १५ लघुकथाहरू :–
क) धर्म
ख) घर फर्कंदा
ग) शक्तिशाली
घ) पहिचान
ङ) ढप
च) परिपुरक
छ) प्रकृति
ज) रहस्य
झ) प्रवृति
ञ) बिद्रोह
ट) प्रकृती
ठ) बाकस
ड) मित्र
ढ) खेती
ण) बसाइँ

   

You cannot copy content of this page