कञ्चनरूप, २४ पुस । मधेशमा शीतलहर र जाडो बढेसँगै सप्तरीका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । जिल्लाका २ वटा स्थानीय तहले अहिलेसम्म बिदा दिइसकेको छ ।
सप्तकोसी नगरपालिका र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले बिदा दिएको छ । सप्तकोसीले चिसोले बालबालिकाहरुलाई विद्यालय जान कठिन भएको भन्दै नगरपालिका भित्रका विद्यालयहरु दुई दिनका लागि बिदा दिइएको हो ।
बुधबार नगरपालिकामा बसेको नगर भित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुको प्रतिनिधिहरुको संयुक्त बैठकले बिहीवार र शुक्रबार नगरपालिका अन्तर्गतका विद्यालयहरुमा विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो ।
विगत केही दिन देखि बढ्दै गएको चिसो तथा शितलहरीका कारण विद्यालयमा पठनपाठन असहज भएको र मौसम प्रतिकूल हुँदै गएकोले नगरका सम्पुर्ण विद्यालयहरुमा मंसिर २५ र २६ गतेका लागि विदा दिएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताउनुभयो ।
यसैगरी जिल्लाकै अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले समेत चारदिन विद्यालयमा विदा दिइएको छ । गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले बुधबार एक सूचना जारी गर्दै पुस २५- २९ सम्म विदा दिएको जानकारी गराउनु भएको छ ।
शीतलहर र जाडोका कारण जनजीवन प्रभावित हुन थालेपछि बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको स्थानीय तहहरूले जनाएका छन् ।
अचानक बढेको चिसो र शीतलहरले जिल्लामा जनजीवन प्रभावित भएको छ । मानिसहरू घरबाट बाहिर निस्कन सकेका छैनन् ।