कञ्चनरूप, २५ जेठ । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा डुबेर बेपत्ता भएका अर्का सशस्त्र प्रहरी गोताखोर टोलीका जवान सुरज साउदको शव फेला परेको छ ।
गत बिहीबार डुबेका डोटीका साउदको शव ४ दिन पछि आइतबार बिहान डुबेको स्थानदेखि दक्षिणतर्फ फेला परेको हो।
उक्त घटनामा साउदसँगै डुबेका अर्का सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव भने शुक्रबार नै भेटिएको थियो । राजवंशी हनुमाननगर कंकालिनी नगरपालिकाको योगिनियाँ क्षेत्रमा मृत अवस्थामा भेटिएका थिए।
प्रहरीका अनुसार, उनी बालुवामा घोप्टिएको अवस्थामा फेला परेका थिए।
बिहीबार सशस्त्र प्रहरी बलको मधेश प्रदेश कार्यालयले सप्तकोसी नदीमा उद्धार अभ्यासका लगि गोताखोर सहितको टोली सप्तकोसी नदीमा लगेको थियो।
उद्धार अभ्यासको क्रममा इलाम दरबन्दी भएका सशस्त्र प्रहरीका जवान राजवंशी र पर्सा गणमा दरबन्दी भई छिन्नमस्ता बाहिनीमा कार्यरत सशस्त्र जवान साउद बेपत्ता भएका थिए ।

