समाचार

सप्तरीमा डाँका तथा कन्तलाल चौधरी हत्या आरोपमा नौ जना पक्राउ

राजविराज, १९ साउन । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहनमा टोलमा कान्तलाल चौधरीको डाँका समूहले गोली हानी हत्या गरेको घटनामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाको दुई महिनापछि डाँका तथा कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–८ का २७ वर्षीय राजेशकुमार मरिक, २८ वर्षीय सञ्जय मरिक, बोदे बर्साइन नगरपालिका–२ का २० वर्षीय दीपेन मरिक, खडक नपा–११ का ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नपा–८ का २४ वर्षीय दीपक मरिक, उदयपुरको बेलका नपा–१ का २८ वर्षीय चन्दर मरिक, सप्तरीको सुरुङ्गा नपा–७ का ३३ वर्षीय राजुकुमार बिक, सिराहाको लहान नपा–६ का ५२ वर्षीय महेन्द्र गोड्से र लहान–८ का ३८ वर्षीय उमेश साह सोनार रहेका छन् ।

पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहनासहित कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई राउन्ड गोली र एक थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page