प्रकाश आचार्य
महुली (सप्तरी) । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मोहनपुरमा बिहीबार अपरान्ह करिब सवा ४ बजे विद्युत् सर्ट भई दुईतले गोठमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।
स्थानीय अम्बिका प्रसाद भट्टराईको गोठमा लागेको आगलागीमा पशु चौपायाको ज्यान भने बचाइए पनि गोठभित्र राखिएका मकै, गहुँ, धान, तोरी लगायतका खाद्यान्न, लत्ता कपडा, भुस र पराल पूर्णरूपमा जलेर नष्ट भएका छ ।
घटनापछि स्थानीयवासीहरूले तत्काल खटिएर आगो नियन्त्रणमा लिएका थिए । कञ्चनरुप नगरपालिकाको बारुण यन्त्र करिब १५ मिनेटमा घटनास्थलमा पुगे पनि आगो त्यतिबेलासम्म नियन्त्रणमा आइसकेको थियो ।
आगलागीबाट गोठ भित्रभित्रै ध्वस्त हुनेगरी क्षति पुगेको छ । स्थानीयको भनाइ अनुसार यदि आगलागी रातको समयमा भएको भए वरिपरिका अन्य घरहरूमा समेत ठूलो क्षति हुन सक्ने अवस्था थियो ।

