कञ्चनरुप, १४ पुस । चिसो बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरूमा तीन दिनका लागि विदा दिइएको छ।
नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द रहने जानकारी गराएको हो। शिक्षा शाखाका शाखा अधिकृत प्रेमकुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा चिसो बढेकाले जाडो विदाबाट कटौती हुने गरी विद्यालयमा विदा दिन निर्देशन गरिएको उल्लेख छ।
सूचनामा भनिएको छ, “जाडोयाम शुरु भएसँगै यस पालिका क्षेत्रमा समेत चिसो बढेकाले पुस १६ देखि १८ गतेसम्म तीन दिनका लागि विद्यालयमा विदा दिनुहुन जानकारीको लागि अनुरोध छ।”
बाक्लो कुहिरोसँगै शीतलहरी बढेपछि सप्तरीका आधा दर्जन गाउँपालिकाले पनि विद्यालयमा विदा दिएका छन्।
सप्तरी सहित तराई–मधेसमा विगत केही दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेको छ । अत्यधिक जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।















