कञ्चनरूप, १६ माघ । सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुमनराज प्याकुरेल मतदातासँग भेटघाट तथा चुनावी प्रचारमा सक्रिय देखिएका छन् ।
शुक्रबार नेकपा एमाले कञ्चनरूप नगरपालिका–१२ नम्बर वडा कमिटीद्वारा आयोजित वडा भेलामा सहभागी हुँदै उम्मेदवार प्याकुरेलले आफूलाई मतदान गर्न मतदातासँग आग्रह गरे । उनले आफू पदमा रहँदा वा नरहँदा पनि सधैं जनताको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि ‘सुखी नेपाली’ कसरी बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित रहने बताए ।
आफू विजयी भएमा निर्वाचन क्षेत्र नम्बर–१ मात्र नभई सम्पूर्ण सप्तरी जिल्लाको शिर झुक्न नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने दाबी गरे ।

सो अवसरमा समानुपातिक उम्मेदवार आसरादेवी चौधरीले वर्तमान निर्वाचन देश बनाउने र देश जलाउने शक्तिबीचको लडाइँ भएको उल्लेख गर्दै एमालेका उम्मेदवारलाई कुनै दुविधा नराखी निर्धक्कका साथ मतदान गर्न आग्रह गरिन् । एमाले जनता र राष्ट्रको शिर कहिल्यै झुक्न नदिने तथा विकास–समृद्धिको पक्षमा दृढतापूर्वक उभिने पार्टी भएको भन्दै उनले बहकाउमा नलागी घरदैलो अभियानलाई तीव्र बनाउने सुझाव दिइन् ।
कार्यक्रममा मधेस प्रदेश कमिटी सदस्य डिकबहादुर विक, नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपाल कञ्चनरूप नगर अध्यक्ष जैनुद्दिन मियाँ लगायतका वक्ताहरूले एमाले उम्मेदवारलाई भारी मतले विजयी गराउन सबै कार्यकर्ता एकजुट भएर चुनावी प्रचार–प्रसारमा लाग्नुपर्नेमा जोड दिए ।

सोही भेलाले वडा नम्बर–१२ कमिटी अध्यक्ष नारायण बहादुर कार्कीको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति र भुवन बहादुर केसीको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
नेकपा एमाले वडा नम्बर–१२ कमिटी अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दीपक भट्टराईले गरेका थिए ।












