राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरी ले एक किशोरीलाई प्रलोभनमा पारी बेपत्ता पार्ने आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सप्तरीको बोदेबर्साइन नगरपालिका–९ निवासी अन्दाजी २१ वर्षीय चन्दन दासलाई नियन्त्रणमा लिइएको हो ।
भदौ २ गते करिब ११ बजेको समयमा बोदेबर्साइन नगरपालिका–७ की १६ वर्षीया स्मृति कुमारी मण्डल परीक्षा दिएर घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । उनलाई विभिन्न प्रलोभन देखाई आफ्नो प्रभावमा पारी बेपत्ता बनाएको आरोपमा दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका उनलाई खोजतलासका क्रममा नियन्त्रणमा लिइएको हो । व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कडोरवना, सप्तरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।













