मकवानपुर, ३ मंसिर । मकवानपुरमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा बुधबार बिहान सुमो जिप दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो ।
दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए । घटनालगत्तै प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो ।

अस्पताल पुर्याइएका घाइतेमध्ये तीन जनालाई बिहान ९:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । बाँकी सात जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







