कञ्चनरूप, ३ जेठ । सप्तरीको कञ्चनरूपमा मोटरसाइकललाई ठक्कर दिई फरार रहेका ट्रयाक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूपनी गाउँपालिका वडा नं. ६ बस्ने ३८ वर्षीय शिव नारायण महतो रहेका छन्।
गएको वैशाख ३० गते राति ७:५५ बजे कञ्चनरूप नगरपालिका वडा नं. ८ विष्णु मन्दिर टोलस्थित पूर्व-पश्चिम लोकमार्गमा सवारी दुर्घटना भएको थियो। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.२-०१-००१त.१७१३ नम्बरको ट्रयाक्टरमा सोही दिशातर्फ गइरहेको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक कञ्चनरूप नगरपालिका वडा नं. १२ रुपनगर बस्ने ५५ वर्षीय कलुवा भन्ने हनिफ मियाँ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका थिए।
घटनापश्चात फरार रहेका ट्रयाक्टर चालक महतोलाई प्रहरीले कञ्चनरूप नगरपालिका वडा नं. ८ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।
मृतकका आफन्त नाजुक अलिको जाहेरीका आधारमा प्रहरीले चालक महतोविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरेको छ। अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।












