कञ्चनरुप, १० जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा नयाँ सडक निर्माण कार्यको शुभारम्भ भएको छ । वडा नं. १२ अन्तर्गत दिनेश बस्नेतको घरदेखि पश्चिमतर्फ निर्माण हुन लागेको आर.सि.सि. ढलान सडकको आइतबार एक विशेष कार्यक्रमका बीच विधिवत रूपमा शिलान्यास गरिएको हो ।
मधेस प्रदेश सभा सदस्य तथा पूर्व गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामा उक्त सडकको शिलान्यास कार्य सम्पन्न भएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजकुमार लेखीले स्थानीय क्षेत्रको समग्र विकासका लागि यातायात पूर्वाधार पहिलो सर्त रहेको बताउनुभयो । यो सडक निर्माण सम्पन्न भएसँगै स्थानीयवासीलाई आवतजावतमा निकै सहज हुने र यसले क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कुल २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यस सडकले स्थानीय पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
उक्त शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूमा आयोजकका तर्फबाट हार्दिक धन्यवाद समेत ज्ञापन गरिएको छ ।













