कञ्चनरुप, ६ असार । प्रेस चौतारी नेपाल, जिल्ला शाखा सप्तरीले नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य एवं गोरखापत्र दैनिकका पत्रकार देवराम यादवमाथि भएको साङ्घातिक आक्रमणको घोर भर्त्सना गरेको छ।
शनिबार प्रेस चौतारी सप्तरीका सह सचिव उत्सव आचार्यद्वारा जारी विज्ञप्तिमा महादेवा गाउँपालिकास्थित हुलाकी राजमार्गको खाँडो पुलमा कुराकानी गरिरहेका बेला पत्रकार यादवमाथि निर्मम कुटपिट भएको जनाइएको छ।
महादेवा गाउँपालिकाका उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितको उच्छृङ्खल समूहले पत्रकार यादवमाथि एक्कासी हेलमेट प्रहार गरी घाइते बनाएको विज्ञप्तिमा उल्लेख छ। बाटो सम्बन्धी समाचार लेखेकै प्रतिशोधमा राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिका परिवारबाट सञ्चारकर्मीमाथि भौतिक आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र विधिको शासनको उपहास भएको चौतारीले ठहर गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “आफ्नो पेसागत जिम्मेवारी र नागरिकलाई सुसूचित गर्ने दायित्वमा खटिएका वरिष्ठ पत्रकारमाथि भएको यस अमानवीय र आपराधिक घटनालाई प्रेस चौतारी नेपाल अक्षम्य अपराधको रूपमा लिँदछ।”
प्रेस चौतारी सप्तरीले स्थानीय प्रशासन र नेपाल सरकारसमक्ष मुख्य आरोपी सुरेन्द्र यादवसहित घटनामा संलग्न सम्पूर्ण दोषीहरूलाई अविलम्ब पक्राउ गरी कडा कानुनी कारबाही गर्न जोडदार माग गरेको छ। साथै, आक्रमणबाट गम्भीर घाइते भएका पत्रकार यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको उचित र निःशुल्क उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याई कारबाही प्रक्रिया अगाडि नबढाइए श्रमजीवी पत्रकारहरूको सुरक्षाका निम्ति कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी समेत प्रेस चौतारी सप्तरीले दिएको छ।












