समाचार समाज

हात्तीको आक्रमणमा ज्यान गुमाएका किसानका परिवारलाई २ लाख बीमा भुक्तानी

कञ्चनरूप, १० असार । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका एक कृषकको परिवारले कृषि तथा पशुपन्छी बीमा अन्तर्गत दुर्घटना बीमा वापत दुई लाख रुपैयाँ प्राप्त गरेको छ। सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ महुली निवासी दिवंगत किसान यज्ञश्वर निरौलाको परिवारलाई दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको हो।
गत वैशाख १३ गते राति आफ्नै मकैबारीमा जंगली जनावर धपाउन बसेका बेला जंगली हात्तीको आक्रमणमा परी ६६ वर्षीय निरौलाको घटनास्थलमै दुःखद मृत्यु भएको थियो। उमेरको उत्तरार्धमा पनि कृषि तथा पशुपालनमा सक्रिय रहनुभएका निरौला स्थानीय स्तरमा मेहनती, जाँगरिला र उदाहरणीय किसानका रूपमा परिचित हुनुहुन्थ्यो।
दिवंगत निरौलाले कृषि तथा पशुपन्छी बीमा कार्यक्रम अन्तर्गत आफ्नो उन्नत जातको गाईको बीमा गराउनुभएको थियो। नेपाल सरकारको कृषि बीमा नीतिअनुसार पशुधनको बीमा गर्दा सम्बन्धित कृषकको पनि दुर्घटना बीमा हुने व्यवस्था रहेको छ। सोही कानुनी प्रावधानअनुसार ओरिएन्टल इन्स्योरेन्स कम्पनीले दुर्घटना बीमा वापतको रु. २ लाख दाबी रकम स्वीकृत गरी भुक्तानी गरेको जनाएको छ।

बीमा कम्पनीका एजेन्ट प्रकाश आचार्य तथा स्थानीय साक्षी प्रेमराज सुवेदीको रोहवरमा दिवंगत किसानका छोरा शिव निरौलालाई दाबी फर्छ्योट पुर्जा हस्तान्तरण गरिएको थियो। कम्पनीका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी उक्त रकम पीडित परिवारको राष्ट्रिय वाणिज्य बैंक खातामा जम्मा गरिने व्यवस्था मिलाइएको छ।
दाबी पुर्जा हस्तान्तरण कार्यक्रममा बीमा कम्पनीका प्रतिनिधिले कृषि बीमाले पशुधनको मात्र नभई किसानको जीवन र भविष्यको सुरक्षामा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरूले श्रमजीवी किसानको सुरक्षाका लागि सरकारले ल्याएको बीमा व्यवस्था वास्तविक पीडितसम्म पुग्नु सकारात्मक पक्ष भएको उल्लेख गर्दै दुःखको घडीमा प्राप्त आर्थिक सहयोगले परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे।
ग्रामीण क्षेत्रमा जंगली हात्ती, बँदेल लगायतका वन्यजन्तुको आक्रमणबाट मानवीय तथा कृषि क्षति बढिरहेका बेला कृषि बीमासँग जोडिएको दुर्घटना बीमा कार्यक्रम किसानका लागि महत्वपूर्ण सुरक्षा कवच बनेको सरोकारवालाहरूको भनाइ छ। स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले यस्ता बीमा कार्यक्रमबारे थप जनचेतना फैलाउन र कृषकलाई बीमामा आबद्ध गराउन आवश्यक रहेको बताएका छन्।
वन्यजन्तुको आक्रमणबाट परिवारको मूल अभिभावक गुमाएको पीडामा रहेका निरौला परिवारका लागि प्राप्त यो बीमा रकमले केही आर्थिक राहत प्रदान गरेको स्थानीयवासीहरूले बताएका छन्।

   

You cannot copy content of this page