कञ्चनरूप (सप्तरी) । सप्तरीमा जन्मिएका युवा र्याप कलाकार तथा गीतकार शेखर वाग्ले (Sidd Wagle) ले जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक गर्ने तयारी गरेका छन्। जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर असार १४ गते उक्त गीत सार्वजनिक गरिने भएको हो।
बाल्यकालदेखि नै संगीतप्रति विशेष रुचि राख्दै आएका वाग्लेले आफ्नो सांगीतिक यात्रामा मधेश, देश, समाज, युवा चेतना र सामाजिक परिवर्तनका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै आएका छन्। यसपटक उनले जननेता मदन भण्डारीको राजनीतिक संघर्ष, जनताप्रतिको समर्पण, दूरदर्शी विचार र राष्ट्र निर्माणमा पुर्याएको योगदानलाई र्याप संगीतमार्फत नयाँ पुस्तासमक्ष प्रस्तुत गर्ने प्रयास गरेका छन्।
गीतको मेलोडी तथा शब्द रचना प्रेमनाथ अधिकारी ले गरेका छन् भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ DJ LX ले गरेका छन्। गीतको र्याप तथा र्याप लिरिक्स स्वयं शेखर वाग्ले ले तयार पारेका हुन्।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो प्रस्तुति दिइसकेका वाग्ले सामाजिक सन्देशमूलक र्यापका माध्यमबाट युवा पुस्तामाझ परिचित बन्दै गएका छन्। उनले विभिन्न संघ–संस्था तथा प्रतिष्ठित व्यक्तित्वहरूबाट सम्मानपत्र, प्रमाणपत्र र प्रशंसापत्रसमेत प्राप्त गरिसकेका छन्।
गीतबारे बोल्दै वाग्लेले ‘जनताको आवाज’ केवल एउटा सांगीतिक सिर्जना मात्र नभई जननेता मदन भण्डारीप्रतिको सम्मान, उहाँका विचारप्रतिको श्रद्धाञ्जली र नयाँ पुस्तालाई इतिहास तथा संघर्षसँग परिचित गराउने प्रयास भएको बताए।
उनले भने, “मदन भण्डारी केवल एक राजनीतिक नेता मात्र होइनन्, उहाँ एउटा विचार र प्रेरणाका स्रोत हुनुहुन्छ। उहाँको योगदान र विचारलाई संगीतमार्फत युवापुस्तासम्म पुर्याउने मेरो सानो प्रयास हो।”
समाजका विविध विषयलाई कलामार्फत उजागर गर्ने उद्देश्यका साथ तयार पारिएको उक्त गीतले जननेता मदन भण्डारीको विचार र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने विश्वास लिइएको छ। गीत सार्वजनिक भएपछि श्रोतादर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने अपेक्षा गरिएको छ।










