कञ्चनरूप, २२ साउन । सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका विभिन्न मोबाइलका सामानसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार साउन १९ गते राति करिब १२:३० बजे इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले बोदेबर्साइन नगरपालिका–५ शिवा चोक सडकखण्डमा गस्ती गर्ने क्रममा नम्बर प्लेट नभएको रातो रङको हिरो एक्सट्रिम १६० सीसी मोटरसाइकल शंकास्पद अवस्थामा फेला पारेको थियो।
प्रहरीले मोटरसाइकल रोक्न खोज्दा चालक मोटरसाइकल र बोरा छाडेर फरार भएका थिए। बेवारिसे अवस्थामा रहेको उक्त बोरा खोली जाँच गर्दा विभिन्न कम्पनीका मोबाइलका सामान फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका मोबाइलका सामानको अनुमानित मूल्य ३ लाख १२ हजार ३ सय रुपैयाँ रहेको छ। बरामद सामानसहित मोटरसाइकल आवश्यक कारबाहीका लागि साउन २१ गते राजविराज भन्सार कार्यालय, तिलाठी–कोइलाडी, सप्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घटनामा संलग्न फरार व्यक्तिको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















