कञ्चनरूप, २६ साउन । सप्तरीको सुरुङ्गा नगरपालिकामा श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, सुरुङ्गा नगरपालिका वडा नं. ०१ शिशुवारी मुसहरी टोल बस्ने ५६ वर्षीय कोसिया सदाले आफ्नी ५२ वर्षीया श्रीमती फुल कुमारी सदालाई कुटपिट गरी हत्या गरेका हुन् ।
गत साउन २० गते बेलुका अं. ६ बजे कोसिया सदाले मादक पदार्थ सेवन गरी श्रीमती फुल कुमारीलाई कुटपिट गर्नुका साथै इँटाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट प्रहरी टोली खटिएर घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान, सिराहा पठाएको थियो । साथै, आरोपित सदालाई इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले नियन्त्रणमा लिएको थियो ।
सुरुमा अभद्र व्यवहार मुद्दामा सप्तरी जिल्ला अदालतबाट साउन २० गतेदेखि नै लागू हुने गरी ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
उपचारका क्रममा मृत्यु र मुद्दा परिवर्तन
अस्पतालमा उपचार भइरहेको अवस्थामा साउन २४ गते बिहान अं. ०३:३० बजे फुल कुमारी सदाको मृत्यु भएको थियो । मृतककी छोरी लिला सदाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाले उक्त ‘अभद्र व्यवहार’ मुद्दालाई ‘कर्तव्य ज्यान’ मुद्दामा परिणत गरेको छ ।
प्रहरीले अदालतबाट पुनः दस दिनको म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभएको छ ।















