समाचार

सप्तरीमा १४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक युवक पक्राउ

कञ्चनरूप, २७ साउन । ज्यान सम्बन्धी कसूर मुद्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर १, महनीरी टोल बस्ने २० वर्षीय गोबिन्दा भन्ने गजेन्द्र नारायण यादव रहेका छन्।

प्रहरीका अनुसार, गत २०८२ साल साउन ११ गते राति करिब ११:०० बजेको समयमा जाहेरवालाकी १४ वर्षीया बहिनी खुस्बु पाल डिजे बाजामा नृत्य गरिरहेकी थिइन्। सोही क्रममा मादक पदार्थ सेवन गरेका प्रतिवादी यादवले उनलाई गुडिरहेको ट्र्याक्टर गाडीमा धकेलिदिएका थिए। ट्र्याक्टरमा धकेलिँदा खुस्बुको टाउको गुडिरहेको गाडीको जेनरेटरमा ठोक्किन पुगेको र गम्भीर चोट लागेर उनी रक्ताम्य भएकी थिइन्।

घाइते खुस्बुलाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल र कीर्तिपुर अस्पताल काठमाडौँ हुँदै पुनः घर फर्काउने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि प्रादेशिक अस्पताल लहान, सिरहामा उपचार गराउने क्रममा साउन २४ गते राति ०१:०५ बजे खुस्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना पश्चात् फरार रहेका प्रतिवादी यादवलाई खोजतलास गर्ने क्रममा प्रहरीले साउन २६ गते बोदेबर्साइन-१ बाट फेला पारी पक्राउ गरेको हो। मृतकका दाजु सुरज कुमार पालको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा मुद्दा दर्ता गरी जिल्ला अदालत सप्तरीबाट म्याद थप गराई यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता हेमराज घिमिरेले जानकारी दिनुभएको छ।

   

You cannot copy content of this page