कञ्चनरूप, १७ भदौ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर उच्च भएसँगै कोशी ब्यारेजमा जलसतहले खतराको तह पार गरेको छ। आज साँझ ६:२० बजेको पछिल्लो मापन अनुसार ब्यारेज भएर २ लाख २९ हजार ६५० क्युसेक पानी बहिरहेको छ।
सप्तकोशीमा पानीको बहाव स्थिर रहे पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणका लागि ब्यारेजका ५६ मध्ये २८ वटा ढोका (गेट) खोलिएका छन्। जलसतह खतराको बिन्दु भन्दा माथि पुगेपछि स्थानीय प्रशासन तथा प्राविधिक टोलीले उच्च सतर्कता अपनाएका छन्।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।
नदीमा पानीको बहाव उच्च रहेकाले कोशी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सजग रहन र उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। प्रशासनले नदी किनार आसपास नजान र क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सतर्क रहन आग्रह गरेको छ।

















