कोशी प्रदेश • समाचार

उदयपुरमा ९४० किलोभन्दा बढी गाँजासहित बोलेरो नियन्त्रणमा

उदयपुर, असोज २६ । उदयपुरमा प्रहरीले ९४० किलो ४४० ग्राम गाँजासहित एउटा बोलेरो गाडी नियन्त्रणमा लिएको छ। चौदण्डीगढी नगरपालिका–१, चारघरेस्थित रानीटार–बेल्टार क्षेत्रको भित्री सडकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार गएराति करिब २ बजे उक्त सडकखण्डमा लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरबाट खटिएको प्रहरी टोलीले जाँच तथा निगरानी गरेको थियो।

सोही क्रममा सडकमा पार्किङ गरी राखिएको बा १४ च २२५५ नम्बरको बोलेरो गाडी फेला पारेपछि प्रहरीले जाँच गर्दा गाडीभित्र रहेका २९ वटा बोरामा गाँजा भेटिएको थियो। उक्त गाँजा बोरासहित तौल गर्दा कुल ९४० किलो ४४० ग्राम रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरू भने हालसम्म फरार रहेका छन्। प्रहरीले फरार व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ भने बरामद गाँजा र नियन्त्रणमा लिइएको गाडीका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

ठूलो परिमाणमा गाँजा बरामद भएपछि घटनालाई लागुऔषध ओसारपसारको गम्भीर घटनाका रूपमा हेरिएको छ।

You cannot copy content of this page