समाचार

पिकअपमा भुसको बोराभित्र गाँजा, सप्तरीका २८ वर्षीय युवक उदयपुरमा पक्राउ

उदयपुर । उदयपुर प्रहरीले १५९ किलो ४०० ग्राम गाँजासहित पिकअप गाडी बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले सप्तरीका एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार असोज २६ गते विशेष सूचनाका आधारमा प्रहरी चौकी लालबजारबाट खटिएको टोलीले उदयपुरको बेलका नगरपालिका–५, देउरालीस्थित क्षेत्रमा चेकजाँच गर्ने क्रममा गाँजासहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो।

प्र.१–०२–००२ च ५२९० नम्बरको पिकअप गाडीमा धानको भुस राख्ने बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १५९ किलो ४०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पिकअप चालक सप्तरीको सप्तकोशी नगरपालिका–८ निवासी २८ वर्षीय पशुपति साफीलाई पक्राउ गरेको छ।

पक्राउ परेका युवक र बरामद गाँजासहितको पिकअप गाडीलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरीले नियन्त्रणमा राखेको छ।

You cannot copy content of this page