उदयपुर । उदयपुरको बेलका नगरपालिकाबाट सशस्त्र प्रहरीले ७ हजार ८२६ किलो ८० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल एपिएफ इन्टेलिजेन्स ब्यूरोको टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार कात्तिक १५ गते साँझ करिब ५ बजेर ५५ मिनेटमा बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा उक्त गाँजा बरामद गरिएको हो।
एपिएफ इन्टेलिजेन्स ब्यूरोका सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको नेतृत्वमा खटिएको टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा गाँजा फेला पारेको जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरी र नम्बर ५ गण हेडक्वार्टर उदयपुरबाट खटिएको टोलीले ट्रकमा लोड गरिएका २४६ वटा प्लास्टिकका बोरामा प्याक गरिएको ७ हजार ८२६ किलो ८० ग्राम कालो गाँजा बरामद गरेको हो।
बरामद गरिएको गाँजा र ट्रक आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपालले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ। अभियानअन्तर्गत लागुऔषध बरामद तथा नियन्त्रण गर्नुका साथै यसको दुरुपयोग रोक्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।







