धर्म संस्कृति

एक महिने श्री स्वस्थानी ब्रत आजदेखि प्रारम्भ

काठमाडौं । धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आज प्रारम्भ भएको छ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गरिन्छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ ।


पौष शुक्ल चतुर्दशीको दिन हातखुट्टाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर व्रतको आरम्भ गर्नुपर्दछ । यसरी पवित्र भएर हविष्य (दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादीको सात्विक पदार्थहरू) भोजन ग्रहण गर्नुपर्दछ । सोही दिन श्रीस्वस्थानी माताको स्थापना र पूजा स्थान सरसफाई गरी लिपपोत गर्नु पर्दछ ।
यस एक महिनाको अवधिमा सत्य बोल्ने, झगडा नगर्ने जथाभावी नहिँड्ने र एकभक्त भएर ईश्वरको पूजामा सामेल हुनुपर्छ भन्ने मान्यता छ ।
श्रीस्वस्थानी मातासंगै महादेवको पनि अराधना गर्नुपर्ने हुन्छ । समापन पूजामा १०८ सेलरोटी, १०८ टुक्रा सुपारी, १०८ बेली पुष्प, १०८ पान, १०८ जनै, १०८ अक्षता, भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ वटा चढाउनु पर्दछ ।

पूजा पछी १०८ पटक परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रत प्रतिष्ठा पछि ‘हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो’ भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८र८ वटा प्रसाद झिकि सगुन सहित आफ्ना श्रीमान, श्रीमान नभए छोरा, छोरा नभए मित छोरा र मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदीमा बगाई दिनुपर्दछ ।

सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु पर्दछ । यतिगरी सकेपछी श्रीस्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नास भई मनोकामना पूर्ण हुने श्रीस्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page