समाचार

कानूनमा महिलाका अधिकार उल्लेख भएपनि व्यवहारमा लागु भएन : नगर प्रमुख मिश्र

डम्बर राई /
कञ्चनरुप / सप्तरी फागुन २४ गते ।
संविधानमा उल्लेख भएका अधिकारहरु अझैं महिलाहरुले पाउँन नसकेको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउँनुभयो । महिलाको हक अधिकार कानूनमा जे जस्तो लेखिएको भएपनि त्यसलाई समाजले व्यवहारमा उतारेको छैन नगर प्रमुख मिश्रले भन्नुभयो, हाम्रो समाजको रुढिवादी परम्परा र सामाजिक संस्कारले दिइएको भ्रमका कारण सरसर्ती यसलाई पालना नगरिएको हो ।
नगरपालिकाको प्राङ्गणमा सोमवार समाजिक विकास तथा महिला तथा बालबालिका शाखाको आयोजनामा आयोजित एक सय ११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रमुख अतिथिको आसनबाट उहाँले समाजको कुरितिले निम्त्याएको भेदभाव तथा विभेदको अन्त्य गर्न समाजमा चेतनाको बिकास गर्नुपर्छ यसका लागि सबैको एकताको आवश्यकता हुन्छ भन्नुभयो ।

आफ्नै घरदेखि हिंसाबोधमा परेकी महिलाले अन्य स्थानमा पनि सुरक्षा पाउँन नसक्ने भन्ने त होइन तर आत्मबल भने पक्कै कमजोर हुन्छ यसका लागि पनि नारी जातीलाई बढि सुरक्षाको आवश्यकता पर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । नारीलाई घरेलु तथा समाजिक हिंसाबाट जोगाउँन आफूले यस नगरपालिकाको कुनैपनि स्थानमा पहिलो मान्यतामा राखिएको छ उहाँले भन्नुभयो, सिप, योग्यता र शिक्षाको प्राथमिकिकरणमा नारीलाई प्रोत्साहन दिइन्छ । उहाँले छोरा सरह छोरीलाई पनि शिक्षा दिइनु पर्छ यसमा भेदभाव गर्नुहुन्न भन्दै सहभागि महिलाहरुलाई महिलाले नै महिलाको वा नारीको हिंसा, भेदभाव नगर्न आग्रह गनुभयो ।
महिलाहरुलाई सचेत हुन आग्रह गर्नुहुदै उनिहरुमा हुने हिंसा तथा अपराधमा आफूले सक्दो सहयोग पुर्याउँने नगर उपप्रमुख निरु पोखरेलले बताउँनु भयो । समारोहको अध्यक्षता गर्नुभएकी पोखरेलले भन्नुभयो, तपाईहरु माथी हुने कुनैपनि अन्याय, अत्याचार दवाएर, लुकाएर नराख्नुस् यसमा डरत्रास मान्नुपर्दैन यदि सहेर बस्ने काम गर्नुहुन्छ भने यसको अन्त्य कहिले हुदैन ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले पनि महिलाहरु सामाजिक सँस्कारकै कारण शोषणमा पर्ने गरेको आकलन व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, समाजमा यतिसम्म भेदभाव छ कि छोरी र बुहारी, छोरा र छोरीमा हेर्ने र गर्ने दृष्टिकोण फरक छ । घरबाट यस्ता विभेदीकरणलाई अन्त्य गरौं र अनि समाजमा भएकालाई अन्त्य गर्न मद्घत गरौं ।
नगरपालिकाका सल्लाहकार खिलानाथ पोखरेल, प्रेस सल्लाहकार उत्तम आचार्य, सर्वाेदय माविका शिक्षिका राजेश्वरी चौधरी, सृजनात्मक सहकारी संस्था लिका अध्यक्ष सविता न्यौपाने, वडा नम्बर १० का अध्यक्ष दिलिप चौधरी, बाल सञ्जालकी पुनिता साह, लगायतले मन्तव्य राख्नुभएको थियो ।
वक्तृत्वकला, विभिन्न खेल तथा साँस्कृतिक लगायतका प्रतियोगिता समेटेको आयोजित दिवस समारोहमा सम्मान एवं पुरस्कृत गरिएको छ । सो अवसरमा +२ मा उत्कृष्ट गरेका सर्वोदय माबि कञ्चनपुरका भाई सुवाष राई, महेन्द्र जनता मावि घोघनपुरका बहिनी पूजा कुमारी साह र दलित तर्फ सर्वोदयका शुसिल कुमार खंग र महेन्द्र जनता माविका भावना परियारलाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

यस्तै यहि फागुन १८ गते शंकर मावि रुपनगरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्घीतिय, तृतिय र सान्त्वना पुरस्कार प्रदान गरिएको छ । प्रथम र तृतिय पुस्कार शंकर मावि रुपनगरकी छात्रा अग्रता खडका र छात्र सरोज सरदारले हात पारेका छन् भने द्घीतिय र सान्त्वना पुरस्कार शंकर मावि बरमझियाकी छात्रा प्रतिमा यादव र छात्र देवप्रकाश ठाकुर अनि अर्काे सान्त्वना पुरस्कार भृकुटी मावि आदर्शटोलकी छात्रा प्रज्ञा कोइरालाले पाएकीछन् ।आयोजित समारोहकै प्राङ्गणमा भएका विभिन्न खेलहरुमा प्रथम, द्घीतिय र तृतिय हुनेहरुलाई पनि प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
महिलाहरुले खेलेको गुच्चा राखेको चम्चा मुखले च्यापेर दौडमा प्रथम हुने वडा नम्बर ८ की संतोषी थापा, द्घीतिय र तृतिय हुने वडा १२ का सीता कार्की र संगीता श्रेष्ठ रहेका छन् । दुई जनाको जोडीमा खेलाइएको बेलुन खेलमा वडा नम्बर ४ निवासी कविता चौधरीको जोडी प्रथम भएका छन् भने वडा नम्बर १२ का प्रमिला पोखरेलको जोडी र १२ नम्बरकै दीपा राउतको जोडी द्घीतिय र तृतिय भएका छन् । पानी भरेको गिलास टाउकोमा बोकेर दौडने खेलमा प्रथम, द्घीतिय र तृतियमा क्रमश कल्पना साह, प्रीयान्सी गुप्ता र ज्योती साह पुरस्कृत भएका छन् ।

यस्तैगरि बिस्कुट मुखमा तान्ने खेलमा रोसन साफी, निरज मरीक र गोलु सदा क्रमश प्रथम, दास्रो र तेस्रो भएका छन् भने कागजमा नाम लेखेर बाल्टीनमा हाल्ने खेलतर्फ सुखान्त राउत पुरस्कुत भएका छन् ।
सविता न्यौपाने, नवदुर्गा सहकारी संस्थाका अध्यक्ष इश्वरी पोखरेल, लक्ष्मीदेवी पासवान,नीशा राम, नीतु साह, प्रमिला पोखरेल, भुवनदेवी खतिवडा लगायत दर्जनौले गीत, नृत्य र कविता वाचन गरेर खचाखच भरिएको सहभागीहरुलाई मनमग्न बनाउनुभएको थियो ।

कार्यक्रमलाई सामाजिक विकास शाखा तथा महिला तथा बालबालिका शाखाकी महिला विकास अधिकृत शुसीला चौधरीले स्वागत गर्नुभएको थियो भने शाखाकी अधिकृत भावना घिमिरे लगायत महिला संघ, संस्थाका जिम्मेवार कर्मचारी तथा महिलाहरुको पूर्ण सहयोग रहेको घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रम शुभकामना महिला बचत तथा ऋण सहकारी संस्था रुपनगरकी सल्लाहकार बिष्णु कुमारी श्रेष्ठले संचालन गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page