मनोरन्जन संगीत

सप्तरीको राजविराजमा लिटिल आइकनको अडिशन

राजविराज , १ चैत ०७७ । सप्तरीको राजविराजमा बालबालिकाहरुको क्षमता विकास र अभिबृद्धिका लागि हुन लागेको पहिलो लिटिल आइकनको अडिशन भएको छ ।
राजविराज जेसीजको आयोजनामा हुन लागेको राजविराज लिटिल आइकन २०२१ प्रतियोगिताका लागि अडिशनमा सहभागीमध्ये २० जना बालबालिका छनौट भएको राजविराज जेसीजले जनाएको छ । अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुलाई आधिकारिक कोरियोग्राफर रजनी केसीलगायत विभिन्न क्षेत्रका विज्ञहरुले एक महिनासम्म ब्यक्तित्व विकास, सामाजिक रहन सहन, नैतिक जिम्मेवारी बारेमा प्रशिक्षित गरेपछि उनीहरुबीच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

लिटिल आइकनका परिकल्पनाकार एवम् निर्देशक भुवन राउतका अनुसार प्रतिस्पर्धीहरुलाई सामाजिक उत्तरदायित्व, जीवनशैली, कलासंस्कृति, बोलीचाली, मानवअधिकार, ट्राफिक नियम, क्याटवाकका विषयमा समेत विशेषज्ञहरुबाट प्रशिक्षित गराइने छ । प्रतियोगिताका बालक र बालिकातर्फ विजेताहरुलाई ताजसहित क्राउन, प्रमाण–पत्र लगायत नगद पुरस्कारसहित राजविराज लिटिल आइकन घोषणा गरिने छ ।
राजविराज जेसीज भवनमा पहिलो अडिसन सम्पन्न भएको र दोस्रो अडिशन आउने शनिबार हुने राजविराज जेसीजका अध्यक्ष सिद्धार्थ तातेडले बताउनु भयो । अडिशनमा अधिकारकर्मी एवम् पत्रकार मनोहर पोखरेल, राजविराज जेसीजका अध्यक्ष तातेड, कोरियोग्राफर ज्योति संग्रौला र सहायक कोरियोग्राफर निकिता पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

राजविराज लिटिल आइकनको ग्राण्ड फाइनल राजविराजमा आगामी चैत ३१ गते गरिने राजविराज जेसीजले जनाएको छ । राजविराज लिटील आइकन २०२० कोभिड–१९ का कारण रोकिएको थियो ।
प्रतियोगिताको सहआयोजकमा युवा सचेतना अभियान तथा सुखी समाज, समृद्ध नेपाल रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page