सप्तरी । कोभिड–१९ को जोखिम बढेको भन्दै सप्तरीमा मास्क खै अभियान सुरु गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै सप्तरीमा सतर्कता अपनाउन थालिएको हो ।
कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले आज आइतबारबाट सर्वसाधारणहरूलाई रोकेर मास्क खै अभियान सुरु गरेको छ । कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधारणलाई समेत सचेत गराउनका लागि ‘मास्क खै’ अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले बताउनुभयो ।
कोरोनाको संक्रमण दिनदिनै फैलिरहँदा पनि मास्क नलगाई हिंड्ने प्रवृत्ति बढेपछि पूर्व पश्चिम राजमार्गमा गएर प्रमुख जिल्ला अधिकारी पोखरेल स्वयंले मास्क लगाए नलगाएको अनुगमन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरी , जिल्ला प्रहरी कार्यालय सप्तरी,जिल्ला ट्राफिक प्रहरी कार्यालय र सस्त्र प्रहरी बलले संयुक्त रुपमा सो अभियान थालेका हुन् ।
सवारी चालकलाई र सह-चालकलाई अनिवार्य रुपमा मास्क लगाउन प्रशासनले निर्देशन दिएको छ । मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा कारवाही समेत गर्ने प्रशासनले जनाएको छ ।
जनस्वास्थ्य प्रमुख दुनियाँलाल यादवको सहयोगमा तथा सप्तरी युथको समन्वयमा करिब एक हजार भन्दा बढीलाई मास्क समेत बितरण गरिएको छ।
आज मात्रै सप्तरीमा एकै परिवारका ११ जनासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment