समाज

सप्तरीमा छोरीको हत्या गरेको अभियोगमा बुवालाई जन्मकैदको सजाय

सप्तरी । सप्तरीमा छोरीको हत्या गरेको अभियोगमा बुवालाई जन्मकैदको सजाय भएको छ । मंगलवार जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको इजलाशले प्रेम विवाह गर्न चाहेकी छोरीको हत्या गरेको अभियोगमा जिल्लाको बलान बिहुल गाउँपालिका ४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई जन्मकैद सजायको फैसला गरेको हो ।
पक्राउ परेका बडहीलाई जन्मकैदको सजाय भएको छ भने फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
१६ वर्षीया सरीताकुमारी बडहीले भारतमा विवाहिता उनकी दिदीका देवरसँग प्रेम गर्थिन् । एउटै घरमा विवाह गर्न घरपरिवारले मञ्जुरी दिएन् । घरपरिवारले मञ्जुरी न दिए पनि प्रेमीसँगै विवाह गर्ने सरीताले अडान राखिन् र आवेगमा आएका बुवाआमाले सरीतालाई कुटपिट गरे। सोही क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरिताको २०७५ माघ १४ गते हत्या भएको आरोपमा प्रहरीले तुरन्तलाललाई ०७५ माघ १५ गते पक्राउ गरेको हो । मृतकको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले तुरुन्तलाललाई पक्राउ गरेको थियो ।
आमाबुवा नै आरोपित रहेको देखिए पछि घटनास्थलको अनुसन्धान पश्चात प्रहरी प्रतिवेदनको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाले उजुरी दर्ता र्गयो । मृतकको शरीरको केही भागमा चोटपटकको निलडाम समेत देखिएकाले प्रहरी प्रतिवेदनका आधारमा उजुरी दर्ता भएको थियो ।
पक्राउ परेका तुरन्तलाल भने जिल्ला अदालतको आदेशमा ०७५ फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page