राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन् ।
पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ ।

विज्ञप्तिमा मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको र अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सञ्चालन गर्न तोकिएको उल्लेख छ । राजीनामामा मुख्यमन्त्रीले आफू संविधानको धारा १६८ को २ बमोजिम नियुक्त भएको र धारा १७९, १ को ‘क’ अनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका विज्ञप्तिमा जनाइएको छ ।

पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्ताव टुंगो लगाउन प्रदेश सभाको विशेष अधिबेशन आज बोलाइएको थियो ।

पोखरेल २०७४ साल फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अब लुम्बिनी प्रदेशमा नेकपा एमालेले एकल बहुमतको सरकार गठनका लागि तयारी सुरु गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page