समाचार

संक्रमितको घरमा औषधी, पौष्टिक आहार लिएर पुगे गाउँपालिका अध्यक्ष चौधरी

बृजमान तामाङ /
बिरेन्द्र बजार, ७ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले कोरोना संक्रमितहरुलाई औषधी, पौष्टिक आहार सहित स्वास्थ्य सामाग्री वितरण गर्नुभयो । अध्यक्ष चौधरीले शुक्रबार कोरोना संक्रमितहरुको घरमै पुगेर उक्त सामाग्री प्रदान गर्नुभएको हो ।
स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि सहितको टोलि लिएर संक्रमितहरुको घर पुग्नु भएको चौधरीले उच्च मनोबलका साथ स्वस्थ्य मापदण्डलाई ख्याल गरेर घरमै बस्न आग्रह गर्नुभयो ।
औषधी, डिजिटल थर्मोमिटर, नुहाउने साबुन, लुगाधुने साबुन, सर्फ, अण्डा लगायतका सामाग्री प्रदान गर्दै अध्यक्ष चौधरीले सेवन र प्रयोग गर्ने तरिका बारेमा समेत सुझाव दिनुभयो ।

चौधरीले होम आईसुलेसनमा बसेका संक्रमितहरुलाई स्वास्थ्यमा जटिलता आए तुरुन्तै आफूलाई सम्पर्क गर्न अनुरोध गर्नुभयो । गाउँपालिकामा हाल सम्म संक्रमित संख्या ४८ पुगेको छ भने ६ जनाको मृत्यु भईसकेको छ ।
मृत्यु हुनेमा वडा नम्बर २ मा २ जना, वडा नम्बर ५ मा २ जना र वडा १ र ३ मा एक एक जना रहेका छन् । संक्रमित मध्ये एक जनाको धरानमा,एक जनाको राजबिराज र एक जना कोभिड अस्पताल सितापुर कलौनीमा उपचार भइरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
संक्रमित मध्ये धरानमा उपचार गराईरहेका वडा नम्बर २ का एक पुरुषको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य रहेको वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले जानकारी दिनुभयो ।

६ वटा वडा रहेको गाउँपालिकामा सभन्दा बढी २ र १ नम्बर वडामा संक्रमित रहेको छ भने वडा नम्बर ६ मा शून्य छ ।गाउँपालिकाले चिकित्सक सहित १० वटा अक्सिजन सिलिन्डरको ब्यबस्था गरि १० बेडको कोभिड अस्पताल संचालनमा ल्याएको वडा नम्बर २ का अध्यक्ष पशुपति चौधरीले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page