राजनीति

सप्तरीमा सर्वोच्च अदालतको परमादेश विरुद्ध व्यापक प्रदर्शन ,प्रधानन्यायाधीश राणाको पुतला दहन

राजविराज । सप्तरीको विभिन्न स्थानमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ नेपालले मंगलबार विरोध प्रदर्शन गरेको छ ।
सर्वोच्च अदालतको परमादेश विरुद्ध सप्तरीको राजविराज, सप्तकोशी, कञ्चनरुप र महुलीलगायतका स्थानमा युवा, विद्यार्थीहरूले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको पुतला दहन गर्दै प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई समय तोकेर प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश गर्ने फैसला गरेपछि युवा, विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।


राजविराजस्थित उच्च अदालत जनकपुर राजविराज इजलाश अगाडि भेला भएका युवा, विद्यार्थीहरूले राणाको पुतला दहन गरे । जलेको पुतलासहित नारा लगाउँदै गजेन्द्र चोक पुगेका प्रदर्शनकारीले जनादेशको प्रधानमन्त्री हटाएर परमादेशको प्रधानमन्त्री बनाउने निर्णय मान्न नसकिने बताए ।
युवा संघ सप्तरीका संयोजक चितरन्जन यादव र अनेरास्ववियु सप्तरीका अध्यक्ष ललीतनारायण रजकको नेतृत्वमा राजविराजमा निक्लेको जुलुस गजेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
वक्ताहरूले प्रधान न्यायाधीश राणाको दोस्रो खिलराज रेग्मी बन्ने योजनाअनुरुप सर्वोच्च अदालतको फैसला आएको दाबी गरे । विद्यमान परिस्थितिमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिए पनि कालान्तरमा निर्दलीय सरकारको नेतृत्व राणाले गर्ने युवा नेता पिन्टु यादवको भनाइ छ ।

संसद पुनस्र्थापना गर्ने र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशको विरोध गर्दै सप्तकोशी नगरपालिकाको फत्तेपुर, कञ्चनरुप नगरपालिकाको रुपनगर र अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको महुलीमा समेत विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले अदालतको फैसलाको विरोध गर्दै प्रधान न्यायाधीश राणाको पुतला दहन गरे ।
महुलीमा भएको कार्यक्रममा एमाले नेता बोधराज सुबेदीले सर्वोच्चले देउवालाई प्रधानमन्त्री तोके पनि संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेकाले मुलुक अस्थिरतातर्फ गएको बताउनु भयो । बहुदलिय व्यवस्थामा पार्टीको आदेश मान्नु नपर्ने निर्णयले मुलुक निर्दलीय व्यवस्थातिर उन्मुख भएको उहाँले बताउनु भयो ।

सर्बोच्च अदालतले संविधानको व्याख्या नभई संशोधन नै गरेको भन्दै मङलबार फत्तेपुरको भकुण्डे चोकमा बिरोध कार्यक्रमका साथ प्रधान न्यायाधीश राणाको पुत्ला दहन गरिएको छ ।
कार्यक्रममा नेकपा एमाले का नगर कमिटी अध्यक्ष पारस दाहालले कांग्रेसका सभापति देउवाले संसदबाट विश्वासको मत पाउन सक्ने अवस्था नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यसपछि अस्थिर राजनीतिको फाइदा उठाउँदै अपवित्र गठबन्धनको सहयोगमा प्रधान न्यायाधीश राणा चुनावी सरकारको प्रमुख बन्ने खतरा रहेको छ ।’

युवा संघका सप्तकोसी नगर कमिटी अध्यक्ष अजय श्रेष्ठले सर्बोच्च अदालतले कानुन हातमा लिएर सिधै प्रधानमन्त्री नियुक्त गर्नु गैर संबैधानिक भएको बताए । न्यायपालिकाले ठाडो रुपमा बहुदलिय संसदीय व्यवस्थामाथि प्रहार गरेको उहाँको भनाई छ ।
कञ्चनरुपमा भएको कार्यक्रममा युवा संघका नगर अध्यक्ष जैनुद्दिन मियाँले प्रधान न्यायाधीश राणामा खिलराज बन्ने लालसा जागेको बताउनु भयो ।
जनादेशलाई बाइपास गर्दै सर्बोच्चले निरंकुश शैलीमा प्रधानमन्त्री नियुक्तिको परमादेश गर्नु अकल्पनिय रहेको मियाँले बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page