समाज

कञ्चनरुप सामाजिक विकास शाखाद्वारा ‘ग’ वर्गका ३० जना अपाङ्गता व्यक्तिहरुलाई सम्मान

उत्तम आचार्य /
कञ्चनरुप , असार ३१ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा तथा महिला तथा बालबालिका शाखाले बिहीवार नगरपालिकाको सभाहलमा ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।
सामाजिक सुरक्षा भत्ता नखाने ५० वर्ष भन्दा माथि ७० वर्ष भन्दा मुनिका ३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हर्लिक्स एक केजी, ब्लाङ्केट एक थान, थर्मस एक थान र गम्छा एक थान प्रति व्यक्ति दिई सम्मान गरिएको हो ।

नगरपालिकाको अपाङ्गता भत्ता समन्वय समितिको वैठकको निर्णयानुसार आज ‘ग’ वर्गका ५० वर्ष भन्दा माथि ७० वर्ष भन्दा मुनिका ३० जना व्यक्तिलाई सम्मान गरिएको सामाजिक विकास शाखा तथा महिला, बालबालिका शाखाकी महिला विकास अधिकृत सुशिला कुमारी चौधरीले बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्नु धेरै राम्रो पक्ष रहेको भन्दै काम गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरुको घरमै गई उनीहरुको समस्याका बारेमा जानकारी लिने र समस्याको समाधान गर्न पहल गर्ने बताउनुभयो ।
हामीले स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै आफ्ना बालबच्चालाई उच्च शिक्षासम्म पढाउनु पर्नेमा जोड दिनुभयो ।

सहभागी अपाङ्गता भएका व्यक्ति कालिकान्त चौधरीले ‘ग’ वर्गमा रहेका काम गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिलाई पनि सुविधा उपलब्ध गराउनु पर्ने बताउनुभयो ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत दिवाकान्त चौधरी, कार्यपालिका सदस्य निरञ्जन साह,अनन्तलाल धामी , शाखाकी शाखा अधिकृत भावना घिमिरे , अपाङ्गता महमसंघ कञ्चनरुप नगर कमिटि अध्यक्ष प्रमिला साह लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । नगर प्रमुख मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page