समाचार

राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुप नगर कमिटीद्वारा पाँच सय मास्क वितरण

कञ्चनरुप , श्रावण ३० गते । मुलुक भर कोभिड संक्रमण दर बढेसँगै राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुप नगर कमिटी सप्तरीको आयोजना र इलाका प्रहरी कार्यालय कञ्चनपुरको सहकार्यमा आज बेरियर बजारमा मास्क वितरण गरिएको छ ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले कोरोनाको महामारी यथावत रहेको बेला राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुपले सर्वसाधरण जनतालाई मास्क वितरण गर्नु धेरै सराहनिय कार्य रहेको बताउँदै युवा संघलाई धन्यवाद समेत दिनुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुप नगर कमिटीका अध्यक्ष जैनुदिन मियाँले कोभिडको जोखिमलाई न्युनिकरण गर्न युवा संघले पाँच सय थान सर्जिकल तथा तीन तहको कपडाको मास्क वितरण गरेको बताउनुभयो । हातमा माक्स बोकेर सडकमा आई सर्वसाधारणले मास्क लाए नलाएको अनुगमन गरी मास्क नलगाएकाहरुलाई निशुल्क मास्क वितरण गरिएको उहाँले बताउनुभयो ।
इलाका प्रहरी कार्यालयका इनिस्पेक्टर रमेश कुमार तिमिल्सिनाले नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड १९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू संचालन गरिरहेको जानकारी दिनुभयो ।

प्रहरीले भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध गरेको छ ।
कोभिडको महामारीलाई न्युनिकरण गर्ने कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको युवा संघ कञ्चनरुप नगर कमिटीका सचिव धर्मेन्द्र थापाले बताउनुभयो । बेरियर बजारमा ५ सय सर्वसाधरणलाई सर्जिकल मास्क वितरण गरिएको बताउनुभयो ।

कोरोना भाइरसको संक्रमण रोक्न भिडभाड हुने क्षेत्रहरूमा पुगेर नागरिकहरूलाई अनिवार्य मास्क लगाउन अपिल समेत गरेको अध्यक्ष मियाँले जानकारी गराउनुभयो ।
अभियानमा इलाका प्रहरी कार्यालय कञ्चनपुरका सुरक्षाकर्मीहरु , युवा संघका सदस्यहरु , सञ्चारकर्मी, युवाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको अमिर अलिले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page