समाचार

राष्ट्रिय माध्यमिक विद्यालय बनरैत टोलद्वारा छात्रवृत्ति वितरण

कञ्चनरुप (सप्तरी) , १५ कात्तिक । राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनरुप नगरपालिका वडा नं. ३ बनरैत टोलले सोमवार २०७८ को दलित छात्रवृत्ति र छात्रा छात्रवृत्ति वितरण गरेको छ ।

छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिका शिक्षा शाखाका संयोजक ललित नारायण यादवले विद्यार्थीहरुलाई नियमित रुपमा विद्यालय आई राम्रोसँग अध्ययन गर्न र गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।
नगरपालिका भित्रका विद्यालयहरुले नियमित रुपमा छात्रवृत्ति वितरण गर्दै आएको जानकारी गराउँदै सुरुमै छात्रवृत्ति वितरण गरेकोमा विदालयलाई धन्यवाद समेत दिनुभयो ।

नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्यले विद्यार्थीहरुको शिक्षामा पहुँच बढाउन र विद्यार्थीहरुले सहज रुपमा विद्यालयमा गई अध्ययन गर्ने वातावरण सृजना गर्नका लागि सरकारले दिवा खाजा र छात्रवृत्तिको व्यवस्था मिलाएको चर्चा गर्दै यसको कहिँ कतैबाट दुरुपयोग गर्न नहुने बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक कृष्ण यादव, पूर्व अभिभावक संघका अध्यक्ष हरिनारायण वनरैत लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कक्षा १ देखि ८ सम्मका दलित छात्रवृत्ति १ सय ८७ जना विद्यार्थीलाई प्रति विद्यार्थी रु ४ सयका दरले जम्मा ७४ हजार ८ सय र कक्षा १ देखि कक्षा ८ सम्मका छात्रा छात्रवृत्ति १ सय ६ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी रु. ४ सयका दरले जम्मा ४२ हजार ४ सय गरी जम्मा २ सय ९३ जना विद्यार्थीलाई रु १ लाख १७ हजार २ सय छात्रवृत्ति वितरण गरिएको र कक्षा ९ र १० का ५९ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी रु. ५ सयका दरले जम्मा २९ हजार ५ सय रुपियाँ छात्रा छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण यादवले बताउनुभयो ।
स्वागत मन्तव्य विद्यालयका शिक्षक विश्वनाथ खडकाले गर्नुभएको थियो भने वडा नम्बर ३ का वडा अध्यक्ष सत्यनारायण साहको अध्यक्षतामा छात्रवृत्ति वितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page