साहित्य / लेख रचना

१२खरी कथा लेखन प्रतियोगितामा सप्तरीका पोखरेलसहित २५ उत्कृष्ट कथाकारहरूलाई प्रशंसापत्र र पुरस्कार प्रदान

काठमाडौं । बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिशहोम १२खरी कथा लेखन प्रतियोगितामा सप्तरीका मनोहर पोखरेलसहित यस वर्ष उत्कृष्ट २५ कथाकारहरूलाई आज प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरिएको छ । देशविदेशमा रहेका चार सयभन्दा बढी कथाकारहरुले सहभागिता जनाएको प्रतियोगितामा पोखरेलको “नयाँ बाटो” शिर्षकको कथा उत्कृष्ठ २५ कथामा पर्न सफल भएको हो ।

जसमध्ये प्रथम पुरस्कार मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ शीर्षकको कथा भएको छ । यस्तै, दोस्रो पुरस्कार स्वप्निल नीरवले ‘बुढो घर’ कथाका लागि प्राप्त गरेकी छन् भने तेस्रो पुरस्कार ‘मुडुली’ कथाका लागि रेणुका जिसीले प्राप्त गरेकी छन् । नेपालमा सबैभन्दा ठूलो राशीको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः एक लाख, साठी हजार र चालिस हजार रुपैयाँ प्रदान गरिएको छ ।

अन्य २२ जनामध्ये पोखरेल, अच्युत, कमल नेपाल, डा. गोविन्दसिंह रावत, चन्द्र पन्जियार, जीवन खत्री, डीके विरही, तिलक राई, त्रिभुवनचन्द्र वाग्ले, बुद्धिराज पाण्डे, महेन्द्र उपाध्याय, मोद ढकाल, डा. राजु अधिकारी, वीरसिंह विश्वकर्मा, विशालबाबु बस्नेत, शारदा पराजुली, श्रेयज सुवेदी, सञ्जय भट्टराई, सपना अधिकारी, सरिता अर्याल, साजन केसी र हरिबोल काफ्लेले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता घोषणासँगै प्रतिस्पर्धामा आएका कथाहरूमध्ये उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा–२०७८’ को पनि लोकापर्ण गरिएको छ ।

प्रमुख अतिथि रक्षामन्त्री डा. मीनेन्द्र रिजालले विजेतालाई पुरस्कार वितरण तथा पुस्तकको लोकार्पण गर्नुभएको थियो । प्रमुख अतिथि डा. रिजालले प्रथम तीनसहित उत्कृष्ट २२ कथाकारहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभयो ।

उत्कष्ट कथाकारलाई मन्त्री रिजालसँगै डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रबन्ध सम्पादक राजेश केसीलगायतले खादा, पुष्पगुच्छा, प्रमाणपत्र, नगद र ट्रफी वितरण गर्नुभयो ।

डिश होम बाह्रखरी कथाको टाइटल स्पोन्सर रहेको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंक, अजोड इन्स्योरेन्स र नेपाल आयल निगम प्रायोजक रहेका थिए ।

प्रतियोगितामा प्राप्त ४०० बढी कथाहरूमध्येबाट ५० वटा कथा चयन गरी बाह्य निर्णायक समितिलाई बुझाइएको थियो । उक्त ५० कथाहरूमध्येबाट समितिले उत्कृष्ट २५ कथासहित प्रथम, द्वितीय र तृतीय घोषित गरेको थियो ।

‘तेस्रो डिशहोम १२खरी कथा प्रतियोगिता’का उत्कृष्ट २५ कथाहरू समकालीन नेपाली कथाका अनुहार भएको कथा प्रतियोगिताको छनोट समितिले जनाएको छ । प्रतियोगितामा समावेश कथाले समग्र नेपाली समाजको प्रतिनिधित्व गरेको छनोट समितिको ठहर छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page