समाचार

सप्तरीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आरम्भ

राजविराज, मंसिर ९ गते । सप्तरीसहित देशैभर बिहीबारबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
राजविराजस्थित गजेन्द्र चोकमा भेला भएका अधिकारकर्मीहरूले ’घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ साँझ मैनबत्ती प्रज्वलन गरी १६ दिने अभियान आरम्भ गरेका हुन् ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्देश्यले १६ दिनसम्म विशेष अभियान सञ्चालन गर्न विभिन्न संस्थाहरूले संयुक्त रूपमा कार्यक्रम गर्न लागेका हुन् ।
सुरु भएको बिहीबारको कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्ने बताए । अभियानको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिँदै पोखरेलले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्नेमा जोड दिए ।

सरकारी र गैरसरकारी संस्थाहरूसमेतको सहभागितामा अभियान मूल समारोह समितिका संयोजक तथा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष अनीता देवकोटाको अध्यक्षता र समितिका सचिव तथा परिकल्पना नेपालकी अध्यक्ष सुधा देवको सञ्चालनमा भएको कार्यक्रममा नागरिक समाज, प्रहरी, अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी, गैर सरकारी संस्थाहरूका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
परिकल्पना नेपालको संयोजनमा भएको कार्यक्रममा सहभागीहरूले हिंसा नगर्ने, हिंसा नसहने र हिंसाको प्रतिवाद गर्ने प्रतिबद्धता गरे । लिङ्गका आधारमा दैनिक रूपमा हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा सबैले जोड दिए ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
हिंसामा परेकाहरूलाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page