बृजमान तामाङ /
राजविराज, १९ माघ । सप्तरी सहित देशैभरी बुधबार तामाङ समुदायले मान्यजनहरुको हातबाट टीका तथा खादा ग्रहण गरि हर्सोउल्लासका साथ सोनाम ल्होछार पर्व मनाएका छन् ।
तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व २८५८ औं सोनाम ल्होछार मान्यजनहरुको हातबाट टीका तथा खादा ग्रहण गरि मनाईएको हो ।
ल्होछार पर्व प्रारम्भ भएको दिन देखि पाँच दिन सम्म तामाङ समुदायले मान्यजनहरुको हातबाट टीका थापी खादा लगाएर आशीर्वाद लिने परम्परा रहेको छ । तामाङ समुदायमा परिवारका जेष्ठ सदस्यले आफ्ना कुलको पूजा गरिसकेपछि कुल देवताको प्रसादको रुपमा आफ्ना परिवारलाई टीका खादा लगाएर ल्होछार मनाउने चलन रहेको नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सूर्यमान तामाङले बताउनुभयो ।

आफ्ना घरमा टीका थापी आशीर्वाद लिईसकेपछी माईती ,मामला घर गएर माघ शुक्ल प्रतिपदाको दिन देखि पाँच दिन सम्म टिकालाई निरन्तरता दिईने उहाँले जानकारी दिनुभयो । ल्होछारमा मान्यजनहरुको हातबाट टीका थापी खादा लगाएर आशीर्वाद लिईन्छ, सचिव तामाङले भन्नुभयो, तामाङ समुदायले दशैको रुपमा मनाउने चार्ड भएकोले मान्यजनहरुकोमा हलुका हातेकोसेलि लिएर टीका थाप्न जाने तथा आएका पाहुनालाई खानपिन गराई गच्छे अनुसारको दक्षिणा दिईन्छ ।
तामाङ पात्रो अनुसार ल्होछार देखि सम्बत फेरीने भएकोले घर, गुम्बा तथा सार्वजनिक स्थलहरुमा नयाँ झण्डा समेत गाड्ने गरिएको उहाँले बताउनुभयो ।

तामाङ समुदायले ल्होछार पर्वको अवसरमा साँस्कृतिक महोत्सव सहितका विभिन्न सार्वजनिक कार्यक्रमको आयोजना गरिएपनी कोरोनाको बढ्दो संक्रमणले यस्ता कार्यक्रमहरु स्थगित गरि घरघरमा ल्होछार मनाईएको नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोलेले जानकारी दिनुभयो ।
नेपाल सरकारले सोनाम ल्होछार पर्वको अवसारमा बुधबार सार्वजनिक विदा दिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका विभिन्न सरकार प्रमुख तथा राजनीति दलहरुले ल्होछार पर्वको अवसारमा शुभकामना सन्देश समेत व्यक्त गर्नुभएको छ ।

















Add Comment