साहित्य / लेख रचना

सप्तरीको कञ्चनरुपमा लघुकथाकार खेमराज पोखरेलद्वारा लघुकथा लेखन बारे प्रशिक्षण

कञ्चनरुप (सप्तरी), २५ असार । सप्तरीको कञ्चनरूप नगरपालिकामा आज लघुकथाकार खेमराज पोखरेलले लघुकथा लेखनबारे प्रशिक्षण दिनुभएको छ । श्रष्टा पोखरेल सप्तरीको कञ्चनरूपस्थित घर आउनु भएका बेला लघुकथाबारे प्रशिक्षण दिनुभएको हो । उहाँ अमेरिकामा बस्दै आउनु भएको छ ।
लघुकथा पाठ्य श्रव्य दृष्य प्रतिष्ठान र सगरमाथा साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा उहाँले के हो लघुकथा, कस्तो हुनुपर्छ लघुकथा र राम्रो लघुकथाका लागि के के चाहिन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभयो ।
प्रशिक्षण पश्चात विभिन्न जिज्ञासाको उत्तर दिनुहुँदै पोखरेलले लामा कथा भन्दा लघुकथा लेख्न बढी परिश्रम गर्नुपर्ने बताउनुभयो । छोटो संरचनामा प्रभावकारी भाव सम्प्रेषण गर्ने लघुकथामा अनावश्यक शब्द नहुने तर सिंगो उपन्यासको विषयवस्तु अटने बताउनु भयो ।

लघुकथाको प्रस्तुति घटनाको सरासर वर्णन नभएर घटनाको विकास, कथानकको बनोट, चरित्रको निर्माण, परिवेशको उद्घाटन आदिमा पाठकका मनमा अब के हुन्छ ? अब के हुन्छ ? भन्ने उत्सुकता जागृत भइराख्ने र समापन अत्यन्त प्रभावकारी र पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना गर्ने खालको हुनुपर्ने बताउनु भयो ।
माध्यमिक तहमा कञ्चनरूपमा पढनु भएको पोखरेलका गुरुहरू तिर्थराज उपाध्याय र शम्भुप्रसाद घिमिरेले पाठ्य शिक्षासँगै मानवताको शिक्षा, ज्ञान, शिप, संस्कार पाउने र प्रयोग गर्ने शिष्यले गुरुहरूलाई गौरन्वानित बनाउने गरेको बताउनु भयो । सिकाइ र भोगाइको जीवनमा मानिसले जन्मेदेखि मृत्युपर्यन्त आफूलाई विद्यार्थी सम्झिरहे मात्र ज्ञान बढ्दै जाने उहाँहरूले बताउनु भयो ।

सगरमाथा साहित्य परिषद्का अध्यक्ष एवम् प्रतिष्ठानका एडमिन मनोहर पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रगतिशील लेखक संघका अध्यक्ष मेघराज पौडेलले स्वागत गर्नुभएको थियो । प्रतिष्ठानको फेसबुकबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो । लघुकथालाई जनसाधारण सम्म प¥याउन गत कात्तिक ३ गते स्थापना भएको प्रतिष्ठानले दैनिक रातको ८ बजे विभिन्न भाषाका लघुकथाको प्रत्यक्ष वाचन गर्दै आएको छ ।
ससापका सचिव एवम् प्रतिष्ठानका एडमिन नन्दलाल आचार्यद्वारा सञ्चालित प्रशिक्षण कार्यक्रममा प्रलेस सचिव ईश्वरी नेपाल, शिक्षकहरू गणेश बस्नेत, लक्ष्मीकान्त चौधरी, डेफोडिल सेकेण्ड्री स्कूलका प्राचार्य दुर्गा निरौला, पत्रकारहरू पुनम पोखरेल, शिव आचार्य, भुपदेव माली, साहित्यकारहरू सन्तोष पौडेल, हेमन्त पौडेल, दिपक दाहाल, दुर्गा पौडेल, केशरा पौडेल, अन्जु पौडेल, पुजन पौडेल लगायतको उपस्थिती रहेको थियो ।

सप्तरीको कञ्चनरूप नगरपालिकामा जन्मिनु भई अमेरिकामा बस्दै आउनु भएका ६६ वर्षीय श्रष्टा खेमराज पोखरेलले त्रिभुवन विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा ३३ वर्ष प्राध्यापन गरी सेवा निवृत हुनु भएको छ । लघुकथाको उन्नयनका लागि सङ्कल्पित पोखरेलले दह्रो लौरो (लघुकथा सङ्ग्रह–२०७३), पछ्यौरीको आइसक्रिम (लघुकथा सङ्ग्रह–२०७३), ऊनको डल्लो (कथा सङ्ग्रह–२०७३), मोलुङ लघुकथा सङ्ग्रह (सम्पादन–२०७३), पमाहा (कथा सङ्ग्रह–२०७५). सिमानामा आमा (लघुकथा सङ्ग्रह–२०७५), राम शाहको चौतारो (लघुकथा सङ्ग्रह–२०७५), श्रीवल्ली (२०७९), निवन्ध सङ्ग्रह–२०६६), सडक र बुढो सिमल (कविता सङ्ग्रह–२०७३) सहित १४ कृति प्रकाशित छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page