साहित्य / लेख रचना

लघुकथा -गुरु ( मनोहर पोखरेल )

अरू दिन आफ्नो पालोमा ‘यस सर’ भन्थेँ । त्यो दिनदेखि सबैले ‘प्रणाम गुरुवर’ भन्न थालें । कक्षामा विद्यार्थीहरूको फेरिएको बोलीको रहस्य सम्झेर म भने आजसम्म मख्ख परिरहन्छु ।


त्यस दिन रोल नम्बर २१ अनुपस्थित थिए । हाजिरी पश्चात् ‘नियमित विद्यालय आउने हेमन किन आएनन’ भनेर उनका साथीहरूसँग चिन्ता प्रकट गरेको थिएँ । आमा विरामी भएकोले हेमन आउन नपाएका रहेछन् ।


पढाइ सकिना साथ म कक्षा कोठाबाट निक्लिएको थिएँ । कार्यक्रममा बसिदिन सयौं विद्यार्थीहरूले गरेको आग्रहमा भन्दा अनुपस्थित हेमनले ध्यान खिचेको थियो । सोझै भलुवाही खोला नजिकै रहेको बस्ती पुगेँ । खरले छाएको झुपडीभित्र हेमन पानीपट्टी लगाइरहेका थिए । मुढोजस्तै लडिरहेकी थिइन् उनकी आमा । बुवाको मृत्युपछि आमा नै हेमनको एक मात्र सहारा थिइन् । मलाई देख्ना साथ उनी रुन थाले र भने, ‘मसँग गाडीभाडा समेत छैन ।’ वातावरण सम्हाल्दै भनेको थिएँँस ‘चिन्ता नगर हेमन, म लैजान्छु अस्पताल ।’ डाक्टरले परीक्षणपश्चात् समयमै अस्पताल ल्याएर राम्रो गरेको बताएका थिए ।


विद्यालयमा गुरु पूर्णिमा मनाउन नपाएका विद्यार्थीहरू भने त्यहीं आइपुगेका थिए । उनीहरूले अस्पतालमै मलाई फूलको गुच्छा दिँदै दोसल्ला ओढाएर सम्मान गर्न खोजे । मैले ज्वरोले काँपिरहेकी बिरामीलाई दोसल्लाले ढाकिदिए । विद्यार्थीबाट फूलको गुच्छा लिएर हेमनको आमालाई दिँदै स्वास्थ्य लाभको कामना गरेँ । कार्यक्रमका लागि उठाएको बाँकी रकम हेमनलाई दिन भनेँ । अंगालो मारेर हेमन भक्कानिएको थियो । आमाले उपचार पाएकोमा कृतज्ञता प्रकट गरिरहेको थियो । सबैको ओठमा मुस्कान नाचेको थियो । अस्पतालमा गुरु पूर्णिमा मनाउँदा मलाई पनि अपार आत्मसन्तुष्टि मिलेको थियो ।
मनोहर पोखरेल
राजविराज, सप्तरी

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page