समाचार

सप्तरी गोबरगाढाको मतपेटिका हेलिकप्टरबाट ढुवानी हुने

सप्तरी, २१ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाको मतपेटिका हेलिकप्टरबाट ढुवानी हुने भएको छ । यो क्षेत्र सप्तकोशी नदीको भंगालो भित्र रहेको छ ।
मतदान सकिँदा साँझ अध्याँरो भइसक्ने र ढुंगा (नाउ) बाट मतपेटिका ल्याउन असुरक्षित भएकाले हेलिकोप्टरको माग गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो । हेलिकोप्टरको व्यवस्थाका लागि माग गरिएकोमा निर्वाचन आयोग सकारात्मक देखिएको प्रजिअ थापाले बताउनु भयो ।
आगामी निर्वाचन, शान्ति सुरक्षा तथा सेवा प्रवाह लगायतका विषयमा सुरक्षा समितिको टोलीले स्थानीय जनप्रतिनिधि र समुदायसँग छलफल समेत गरेको थियो ।
गत साउनमा सप्तकोसीको बाढीले गोबरगाढास्थित विद्यालय भवन र स्वास्थ्य चौकी क्षेत्र कटान गरेर बगाएपछि नयाँ मतदानस्थल निर्माणका लागि जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले स्थलगत अनुगमन गरेर हेलिकप्टरको आवश्यक्ता बोध गरेका हुन् ।

सप्तरीमा २९५ मतदान स्थलमध्ये २०८ मतदान स्थल अति संवेदनशील, ८३ मतदान स्थल संवेदनशील र चार मतदान स्थल सामान्य रहेका छन् ।
सुरक्षा व्यवस्थाका लागि ७ सय ६६ नेपाल प्रहरीसँगै ३ हजार २७८ म्यादी प्रहरीलाई जिल्लाभरी खटाइएको र व्यापक चेकजाँच भइरहेको सप्तरीका एसपी अविनारायण काफ्लेले बताउनु भयो । मतदानका लागि ८७१ प्रहरी थपिने उहाँलेले जानकारी दिनु भयो ।
सप्तरीमा निर्वाचन सम्पन्न गर्न प्रहरी र म्यादी प्रहरी बाहेक साढे पाँच सय सशस्त्र प्रहरी, साढे चार सय नेपाली सेना, २१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र ४ हजार ७९८ कर्मचारीको प्रत्यक्ष सहयोग रहने छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page