सुनसरी, २५ कात्तिक । सुनसरीको इटहरीमा शुक्रबार लघुकथा सङ्ग्रह ”बा को फोटो” लोकार्पण भएको छ । बिश्लेषक एवम् लघुकथाकार निरज कोइरालाको बा को फोटोको लोकार्पण एक समारोहबीच प्रा. डा. टङ्क न्यौपानेले गर्नुभयो ।
विश्व आदर्श कलेजमा अच्छा राई रसिक प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण कार्यक्रममा डा. रमेश घिमिरे, डा. तारा निरौला, इटहरी कला साहित्य उत्थान समूह अध्यक्ष कृष्णविनोद लम्साल, झोराहाट नाट्य समूह अध्यक्ष भरत गुरागाइँ बर्बरिक, शिक्षक एवम् साहित्यकार रमेन्द्र कोइराला, विनोद विवशले शुभकामना व्यक्त गर्नुभयो । रचनाको विश्लेषण बरिष्ठ लघुकथाकार डा. खेमराज खनाल र अग्रज लघुकथाकार सरन राईले गर्नुभयो ।


बिश्लेषक डा. खनालले समाजको विविध क्षेत्र समेटिएको बा को फोटोले भाषा, संस्कृति, प्रकृति, वातावरण, शिक्षा, राजनीति, समाज लगायतको यथार्थता केलाउँदै समाज सुधार गरी आदर्श समाजको परिकल्पना गरेको बताउनुभयो । लघुकथाकार सरन राईले लघुकथा सङ्ग्र्रह उम्दा रहेको बताउनु भयो ।
लघुकथा बिश्लेषक रमेन्द्र कोइरालाले इटहरीमा कविता गोष्ठी, मुक्तक विमोचन तथा गजल महफिलहरु प्रशस्त हुँदै गएकोमा लघुकथाको मियो गाडिएको र आगामी दिनमा लगातार नयाँ नयाँ लघुकथा सङ्ग्र्रह सिर्जना हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।


लघुकथाकारहरु विष्णु भण्डारी आचार्य, अनु विज्ञाति, सीता रेग्मी, रोशन पराजुली, शारदा दहाल भण्डारी, श्रीप्रसाद पोखरेल, कृष्ण गौतम, कवि मुक्ति पोख्रेल, टीका आत्रेय, रोहिणी रसिक, लीलानाथ सिलवाल, सिर्जना नेपाललगायत इटहरी, इनरुवा, बेलबारी, धरान, बिराटनगर, सुन्दर हरैचा, झोडाहाट, धनकुटा, भोजपुर तथा रामधुनीका साहित्यकारहरुको बाक्लो जमघट भएको थियो ।
लघुकथा वाचन तथा विश्लेषण समेत गरिएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष प्राध्यापक लेखनाथ घिमिरेले र सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष केशव सुनामले गर्नुभएको थियो ।




Add Comment