समाचार

सप्तरीमा १२ हत्यासहित ८९ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना

राजविराज, १५ पुष । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व आज (शुक्रबार) राजविराजमा वार्षिक पूर्व समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
मानव अधिकारसँग सरोकार राख्ने जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्था, प्रहरी र पत्रकारहरुको उपस्थितिमा वार्षिक समीक्षा सम्पन्न गरिएको हो ।
इन्सेक सप्तरीका अनुसार २०२२ जनवरीदेखि डिसेम्बरसम्म अर्थात ०७८ पुस १७ देखि ०७९ पुस १६ गतेसम्म इन्सेकमा १२ हत्यासहित ८९ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ । सन २०२० मा १३७ र सन २०२१ मा १०० घटना अभिलेख भएको थियो । बालअधिकार हननको घटना मात्रै ३१ वटा सार्वजनिक भए पछि सरोकारवाला चिन्तित बनेका छन् ।

इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार यो वर्ष १२ जनाको हत्या घटना अभिलेखित छ । सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असईको पोष्टभित्रै हत्या गरेको आरोपमा सशस्त्र प्रहरी जवान पुर्पक्षका लागि थुनामा छन् ।
गैरराज्य पक्षबाट समूहले कुटेर २५, २७ र ३५ वर्षीय युवकको हत्या घटना भएको छ । ती घटनामा आरोपित १६ जना छन् । जसमा ३ जना थुनामा र एक जना बालसुधार गृहमा छन्, ३ जना घरौटीमा रिहा भएका छन्, बाँकी फरार छन् । यस्तै ६० वर्षीय बृद्धको हत्यामा २० वर्षीय युवक पुर्पक्षका लागि थुनामा छन् । नवजात शिशु र ५० वर्षीय पुरुषको हत्याको कारण र अभियुक्त पत्ता लाग्न सकेको छैन् । १७ वर्षीय बालकको मृत्यु घटनाको अनुसन्धान हुन सकेको छैन् ।
यसैगरी यो अवधिमा ४ महिलाको समेत हत्या भएको छ । पेट्रोल छर्केर भाउजुको हत्या गर्ने देवर पुर्पक्षका लागि थुनामा छन् । कुटेर पत्नीको हत्या गर्ने २ घटनाका आरोपित दुई जनामध्ये एक जनालाई ६ महिना कैद र अर्कोलाई सर्वस्वसहित जन्मकैदको सजाय भएको छ । साइकलले बालकलाई ठक्कर दिएको विषयमा बढेको विवाद र कुटपिटबाट छोरालाई जोगाउन आएकी ६० वर्षीया बृद्धाको गाउँलेले नै कुटपिट गर्दा मृत्यु भएको छ । आरोपित ६ जनामध्ये एक जना पुर्पक्षका लागि थुनामा छन् ।
गत वर्ष गैरराज्यबाट ८ ओटा हत्याका घटनामा ८९ वर्षीय अति वरिष्ठ ज्येष्ठ नागरिक, ६८ वर्षीय ज्येष्ठ नागरिकसहित ५ पुरुषको हत्या घटना भएको थियो । आरोपितहरू २० जना थिए । अति वरिष्ठ ज्येष्ठ नागरिकको हत्या आरोपितको पहिचान अझै हुन सकेको छैन् । यस्तै गत वर्ष नौ वर्षीय १ बालिकाको बलात्कारपछि हत्या र १६ वर्षीय १ बालक तथा एक महिलाको हत्या भएको थियो ।

यसैगरी यो वर्ष आत्महत्या दुरुत्साहनका २ घटनामा १८ वर्षीया र २० वर्षीय युवा पीडित भए । आरोपित युवकका बुवा धरौटीमा रिहा भए भने युवतीका परिवारका सदस्य पुर्पक्षका लागि थुनामा छन् । गत वर्ष आत्महत्या दुरुत्साहनका ३ घटनामा २०, २४ र २८ वर्षीया ३ महिला पीडित भएकी थिइन् । आरोपितहरूमा पति, सासु, ससुरा र देवर थिए ।
यसैगरी बालिका बलात्कारको १९ घटनामा ९ देखि १८ वर्ष भित्रका १९ जना बालिका पीडित भइन् । १९ घटनामा एउटा बलात्कार र गर्भपतन तथा एउटा अपहरण र बलात्कार घटना जोडिएको छ । आरोपित १२ वर्षदेखि ६८ वर्षका २४ जना छन् । जसमा एक जनालाई १० वर्षको कैद सजाय भएको छ । ९ जना पुर्पक्षका लागि थुनामा, ५ जना फरार र २ जना हालै गिरफ्तार भएका छन् । बालबिज्याईकर्ता बालकको संख्या पनि बढेको छ । ६ जना बालसुधार गृहमा र एक जना संरक्षकको जिम्मामा छन् । वेचविखन, शरिर बन्धक र बलात्कारको १ घटनामा २० वर्षीय युवक पुर्पक्षका लागि थुनामा छन् ।
गत वर्ष बालिका बलात्कारको १६ घटनामा ५ र ६ देखि १८ वर्षभित्रका १७ जना पीडित भएकी थिइन् । आरोपित १५ वर्षदेखि ७१ वर्षका २४ जना नै थिए । पीडितमा एक अपाङ्गता भएकी बालिका र आरोपितमा २ जना पीडितका बुवा नै थिए ।
यसैगरी यो वर्ष बाल यौन दुव्र्यवहारका ६ घटनामा १३ देखि १७ वर्षका ७ बालिका पीडित भइन् । आरोपितमा १६, १७, २०, २१, २५, ३५ वर्ष उमेरका छन् । जसमा बिद्यालयका सहायक कर्मचारीविरुद्धको उजुरी दर्ता भएन् । आरोपितमध्ये १ जनालाई कैद सजाय भएको छ भने १ जनाले सफाइ पाएका छन् । पुर्पक्षका लागि २ जना धरौटीमा छुटेका छन् भने १ जना फरार रहेका छन् । गत वर्ष यौन दुव्र्यवहारमा ९ घटनामा ९ देखि १७ वर्षीया १० बालिका पीडित भएकी थिइन् । आरोपितमा १७ देखि ४८ वर्षीय ११ जना थिए । बालिका अपहरणको १ मुद्दामा ३ जना फरार छन् भने अर्को १ मुद्दामा आरोपित पुर्पक्षका लागि थुनामा छन् ।
महिला बलात्कारका ७ घटनामा १८ माथि ४० वर्षसम्मका ७ पीडित छन् । बलात्कार घटनामा १९ देखि ४५ वर्ष उमेरका १० जना आरोपित छन् । जसमा ६ जना फरार छन् भने १ जनाले सफाइ पाएका छन् । २ जना पुर्पक्षका लागि थुनामा र १ जना धरौटीमा छुटेका छन् । गत वर्ष महिला बलात्कारका ९ घटनामा १८ माथि ३० वर्षसम्मको ९ महिला पीडित भएकी थिइन् । बलात्कारको घटनामा १९ देखि ३३ वर्षीय ९ जना आरोपितहरू थिए ।
गत वर्ष ९ घटना भएकोमा यो वर्ष महिला बलात्कार प्रयासका ३ घटना भए । जसमा २५, २८ र २९ वर्षीया महिला पीडित भइन् । यसमा २२, २७, ३० र ४० वर्ष उमेरका ४ जना आरोपित रहे । आरोपितमध्ये २ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए । १ जना फरार छन् भने १ जनाविरुद्ध वारेण्टसहितको म्यादी पुर्जी जारी गरिएको छ ।
यसैगरी बहुविवाहको घटनामा बृद्धि भएको छ । गत वर्ष ९ घटना भएकोमा यो वर्ष १३ घटना अभिलेख भएको छ । आरोपितमध्ये ६ जना धरौटीमा छुटेका छन, ६ जना थुनामा छन्, ८ जना फरार रहेका छन् । म्यादी पुर्जी ३ जनालाई जारी भएको छ, एक दम्पतिबीच दोस्रो विहे नगर्ने सहमति भएको छ । बालविवाह र बहुविवाहसमेत भएको २ घटनाका आरोपित २ बालिका संरक्षकको जिम्मामा छुटेका छन् ।
यसैगरी गत वर्ष गर्भपतनको २ घटना अभिलेख भएकोमा यो वर्ष १ घटना अभिलेख छ । २२ वर्षीया महिला पीडित भएको गर्भपतनको घटनामा आरोपित २ दाजुभाई पुर्पक्षका लागि धरौटीमा रिहा भएका छन् । यो अवधिमा अमानविय व्यवहारका २ घटनामध्ये एक घटनाका ५ जना फरार छन् भने अर्को घटनामा ५ जनालाई ६ महिना कैद सजाय भएको छ । स्थानीय तहको निर्वाचनमा एमाले र कांग्रेसका कार्यकर्ता बीच झडप हुँदा दुबै तर्फ ५ जना घाइते भएका छन् । दुबै पक्षबाट ज्यान मार्ने उद्योगको उजुरी दर्ता भएकोमा ८ जना हाजिर भई धरौटीमा छुटेका छन् । फरार १ जना विदेश पुगेका छन् ।
यसैगरी यो अवधिमा ४ जना सञ्चारकर्मीमाथि कुटपिट, दुव्र्यवहार र धम्कीका ४ घटना भएका छन् । महिला बेचविखनको एक घटनामा १ जना पुर्पक्षका लागि थुनामा छन् भने २ जना धरौटीमा रिहा भएका छन् । अपहरण, अभद्र व्यवहारका १÷१ र घरेलु हिसाका ६ घटना नमूनाका रूपमा अभिलेख गरिएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत गत वर्ष जतिकै ६ घटना अभिलेख गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page