समाचार

सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुरोध

कञ्चनरुप (सप्तरी) । जिल्ला प्रहरी कार्यालय सप्तरीले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
सप्तरी प्रहरीले आज एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो ।
प्रहरीले आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ । इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताउनु भयो ।
प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, अपरिचित ब्यक्तिले दिएको खानेकुरा नखान, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न भनेको छ ।
कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० वा ९८५२०९०२७० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।
होली पर्वका नाममा उच्छृङखल गतिविधी गर्नेलाई प्रचलित कानून वमोजिम कारवाही गरीने समेत जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page