सिरहा, १४ कार्तिक । सिरहामा नक्कली नेपाली नोटजस्तो देखिने रकमसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, २०८३ कात्तिक १३ गते राति करिब ११ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा नक्कली नेपाली नोटजस्तो देखिने रकमसहित दुई जना पैदल हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्ने क्रममा कल्याणपुर नगरपालिका–८ बस्ने अन्दाजी ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँको साथबाट नक्कली नोटजस्तो देखिने रकम बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट रु. ५०० दरका ३ थान र रु. १ हजार दरका २४ थान गरी जम्मा २७ थान नक्कली नोटजस्तो देखिने रकम बरामद भएको छ। बरामद रकमको कुल अंकित मूल्य २५ हजार ५०० रुपैयाँ रहेको छ।
पक्राउ परेका दुवै जनालाई बरामद रकमसहित जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।







