समाचार साहित्य / लेख रचना

गायिका कञ्चन झालाई मैथिली गीत गायन पुरस्कार प्रदान गरिने

राजविराज, १३ श्रावण । यस वर्षको उर्मिला देवी मैथिली गीत गायन पुरस्कार सप्तरीको राजविराज–४ की कञ्चन झालाई प्रदान गरिने भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाद्वारा भाइबुहारी उर्मिलादेवी झाको स्मृतिमा स्थापित पुरस्कारबाट यस वर्ष मैथिली लोकगीत गायिका कञ्चन झालाई पुरस्कृत गर्ने निर्णय भएको हो ।
मैथिली साहित्य परिषद्को समन्वयमा आज बसेको वैठकले उक्त निर्णय गरेको हो । उक्त पुरस्कार मधुश्रावणी पर्वको अवसरमा प्रदान गरिदै आएको छ ।
मैथिली साहित्य परिषद्की आजिवन सदस्य मैथिली गीत गायिका उर्मिला देबी झाको पाँच वर्षअघि मधुश्रावणी पर्वकै समयमा मोरङ्गको विराटनगरमा भएको दुर्घटनामा मृत्यु भएको थियो । उर्मिलाकै स्मृतिमा उहाँका जेठाजु प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले चार वर्षदेखि पुरस्कार वितरण गर्दै आएका छन ।
पुरस्कार आगामी मङ्गलबार प्रकाश स्मृति दिवसको अवसरमा राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाकक्षमा वितरण गरिने झाले जानकारी दिए ।
उक्त कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा पूर्व न्यायाधीश मिहिर ठाकुरको प्रमुख आतिथ्यता हुने आयोजकले जनाएको छ ।
गत वर्ष सो पुरस्कारबाट गायिका एवम् रेडियोकर्मी तिरहुत गाउँपालिका–१ की मुनचुन देव ‘प्रिया’ पुरस्कृत भएकी थिइन् । यस्तै ०७७ सालमा राजविराज नगरपालिका–७ की किरण झा र ०७८ सालमा राजविराज–४ की रञ्जु साहलाई प्रदान गरिएको थियो ।
पत्रकार तथा अभियानकर्मी झाले बुवाको स्मृतिमा पण्डित नित्यानन्द झा स्मृति पुरस्कार, स्व. पत्रकार उमा सिंहको स्मृतिमा उमा सिंह पत्रकारिता पुरस्कार र अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा बैद्य–प्रकाश मानव अधिकार पुरस्कार समेत स्थापित गरेका छन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page