समाचार

राजविराज कारागारमा दर, अधिकारकर्मीहरूद्वारा मिठाईका साथै श्रृङ्गारका सामान प्रदान

राजविराज, २९ भदौ । राजविराज कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई दर खुवाएर शुक्रबार अधिकारकर्मीहरूले तीज मनाएका छन् । हरितालिका तीज महोत्सव मूल समारोह समिति सप्तरीले कारागारका कैदीबन्दी महिलाहरूलाई दर खुवाएर तीज मनाएका हुन् ।
राजविराजमा प्रतियोगितात्मक तीज महोत्सव गर्नु अघि आयोजक समितिले कैदीबन्दी महिलालाई मिठाईहरू खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको श्रृङ्गारका सामाग्री दिएर तीजको खुशी साटासाट गरेका हुन् ।

प्रत्येक वर्ष झै कारागारको महिला बन्दी गृहमा पुगेर तीजको दर स्वरूप मिठाई खुवाउनुका साथै श्रृङ्गारका सामान प्रदान गरिएको मूल समारोह समितिका संयोजक अनिता देवकोटाले बताइन् ।
उक्त अवसरमा कारागारमा कार्यरत महिला कर्मचारी र महिला प्रहरीलाई समेत आयोजकले मिठाई र श्रृङ्गारका सामान प्रदान गरेको निमित्त कारागार प्रशासक सदानन्द दासले जानकारी दिए । बन्दी क्षमता १५ महिलासहित एक सय ५५ जनाको रहेको उक्त कारागारमा हाल २० महिलासहित करिब चार सय ३० जना रहेका छन् ।

‘पर्खालभित्र रहेका कैदीबन्दी दिदी–बहिनीको मुहारमा तीजका बेला खुसी ल्याउन सामूहिक रूपमा दर खान, खुवाउन खोजेका हौँ,’ संयोजक देवकोटाले भनिन् , ‘यसपटक कडा सुरक्षा व्यवस्थाका कारण बाहिरबाटै एकमुष्ट सामग्रीहरू दियौ ।’
यसपटक दर दिन पाएकैमा सन्तोष मानेका अधिकारकर्मीहरुले अन्य जिल्लाका कारागारमा झै तीजका बेला एक दिन सँगै बसेर सामुहिक दर खान पाइने वातावरण आगामी दिनमा बनोस् भनेर कामना गरे ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी मनु खनाल, साधना कर्ण, नानीमैया कटवाल, एकल महिला समूहकी माधवी शाह, राजविराज नगरपालिकाकी कल्पना देव, महिला शिक्षक रत्ना गुरुङ, महिला मानवअधिकार रक्षक सञ्जालकी मौसमी झा, सुधा देवकोटा, कविता साह, शिला झालगायतको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page