समाचार

सप्तरीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

कञ्चनरुप, ९ मंसिर । सप्तरीको सदरमुकामसहित विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ । शनिबार प्रभातफेरी र र्‍याली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको हो ।
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मूल आयोजक समिति, लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समितिको आयोजना तथा जिल्लास्थित गैरसरकारी संस्था महासंघ, राजविराज नगरपालिका, इन्सेक, उद्योग वाणिज्य संघ, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल, मानव अधिकार सञ्जाल लगायतका संस्थाहरूको समन्वयमा प्रभातफेरी गर्दै अभियानको उद्घाटन गरिएको हो ।

प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख ईसरत प्रविण, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरिक्षक (एसपी) गजु सिद्धि बज्राचार्य, इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेल, लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समितिका सदस्य , गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपक झा , जिल्ला बार एकाईबाट अध्यक्ष रामप्रसाद चौधरी, उद्योग बाणिज्य संघबाट अध्यक्ष लालु अग्रवाल, नागरिक समाजबाट अध्यक्ष थानसिंह भन्साली, गैसस महासंघ सप्तरीका अध्यक्ष दिपक झा, राजविराज नगरपालिका महिला बालबालिका शाखा प्रमुख , महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जालका सदस्यहरु लगायतले घरैदेखि कार्य क्षेत्रसम्म महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी किरण थापाले महिला हिंसाविरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको बताउनुभयो । प्रजिअ थापाले महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसालगायतका घटना सहेर नबस्न आग्रह गर्दे दिवस र अभियानको सफलताका लागि सबैमा लैङ्गिक हिंसा नगर्ने र हिंसा नसहने प्रतिबद्धताको आवश्यक रहेको बताउनुभयो ।
राजबिराज नगरपालिकाकी कावा नगर प्रमुख ईसरत प्रविणले हिंसाको अन्त्यका लागि सबैभन्दा पहिला घर–घरबाट पाइला चाल्नु पर्ने बताउनु भयो । महिला बालबालिका माथि हुने मानवता विरोधी हिंसा मेलमिलापमार्फत मिलाउने कार्य अन्त्यका लागि सरकारले ल्याएको नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

इन्सेक प्रतिनिधि मनोहर पोखरेलले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनु भयो । अभियानको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिँदै पोखरेलले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नागरिक समाज, प्रहरी, अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी, गैर सरकारी संस्थाहरूका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो । लिङ्गका आधारमा दैनिक रूपमा हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा सबैले जोड दिनुभयो ।

लैङ्गिक हिंसाविरुद्ध १६ दिनसम्म पीडितलाई सहयोग, कानुनी शिक्षा, र्‍याली, अन्तरक्रिया, सम्वाद, बालविवाह विरुद्ध अन्तरपुस्ता सम्वाद, बक्तृत्वकला, चित्रकला, कविता प्रतियोगिता, फलफूल वितरण, सरसफाई, पीडितलाई हौसला प्रदान लगायतका कार्यक्रम तय गरिएको मूल आयोजक समितिले जनाएको छ ।
प्रत्येक वर्ष सप्तरीसहित विश्वव्यापी रूपमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई लैङ्गिकतामा आधारित हिंसा विरुद्ध १६ दिने अभियान भनी मनाइन्छ ।
संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page