समाचार

सप्तकोशी-४ बर्लादहमा तीन दिने परम्परागत खाना र अर्थव्यवस्था सम्बन्धि तालिम सुरु

कञ्चनरुप, ८ माघ । सप्तरीमा तीन दिने परम्परागत खाना र अर्थव्यवस्था तालिम सुरु भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका ४ बर्लादहमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड) काठमाडौंको आयोजना तथा क्लारी फीको सहयोगमा सोमबारदेखि तीन दिने तालिम सुरु भएको हो ।
सिप्रेडका कोषाध्यक्ष रुषा श्रेष्ठको अध्यक्षतामा आयोजित तालिमको मधेश प्रदेशका पूर्व कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य राज कुमार लेखीले सोमबार एक समारोहका विच उद्घाटन गर्नुभयो ।

तालिम उद्घाटन गर्दै पूर्व मन्त्री लेखीले कार्यक्रमले स्थानीय श्रोत साधनको उपयोगमा स्थानीय विकासमा टेवा पुग्ने भएकोले सक्रिय सहभागिताको लागि आग्रह गर्नुभयो । परम्परागत खानाको प्रबर्द्धन र आर्थिक रुपान्तरणका लागि तालिम उपलब्धिमुलक हुने भएको बताउँदै उहाँले आफ्नै क्षेत्रमा तालिम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद समेत व्यक्त गर्नुभयो।
उहाँले कार्यक्रमले स्थानीय विकासको लागि सहयोगी हुने भएकाले यसको निरन्तरतामा सबैले साथ सहयोग दिनुपर्नेमा जोड दिनुभयो । लेखीले आयआर्जन र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने समस्या समाधान गर्ने योजनालाई अगाडि सार्न आग्रह गर्नुभयो ।

यसैगरी सिप्रेडका कार्यकारी निर्देशक डा. पासाङ डोल्मा शेर्पाले कार्यक्रमको उदेश्य बारे प्रकाश पार्दै संस्थाको काम कर्तव्य र अधिकारको बारे जानकारी गराउनुभयो ।
संस्थाले आदिवासी जनजातिको प्रथाजन्य कानुनको मान्यता, जैविक विविधताको सन्दर्भमा संस्थाले गरेको कामको बारे जानकारी दिँदै उहाँले कार्यक्रमले आदिवासी जनजाति, अन्यसमुदाय तथा देशमै ठूलो उपलब्धि हुने दावी गर्नुभयो ।
कार्यक्रममा परम्परागत खानाको महत्व र फाईदाबारे सिप्रेडका कार्यक्रम कोर्डिनेटर नरेन्द्र लामाले जानकारी दिनुभयो । उहाँले परम्परागत खानाको माध्यमले रोजगारीको सिर्जना गर्दै आर्थिक स्तर वृद्धि हुनुकोसाथै स्वास्थ्यको दृष्टिले समेत फाइदाजनक र संस्कृति संरक्षणमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तीन दिने तालिममा बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की, सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्णा प्रसाद ढकाल, कोशी ट्प्पु वन्यजन्तु आरक्षका वार्डेन रमेश कुमार यादवलगायतकाले मन्तव्य राख्नु भएको थियो ।
तीन दिने तालिममा उदयपुरको बेलका नगरपालिका, सप्तरीको सप्तकोशी नगरपालिका र कञ्चनरुप नगरपालिकाका आदिवासी जनजाति समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमको संचालन आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रकी फिल्ड अफिसर सरिता चौधरीले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page