कञ्चनरुप, २७ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर स्थित नेपाल बैङ्क लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन् ।
सप्तकोशी– २ घर भई बैङ्कमा सुरक्षा गार्ड रहेका ५६ वर्षीय परशुराम फुयाँल बिहिवार विहान ७ बजे बैंकको कोठा भित्रै मृत फेला परेका हुन ।
विगत ८ वर्षदेखि बैङ्कमा कार्यरत फुयाँल सुतेकै ठाउँमा मृत अवस्था फेला परेका हुन् भने मृत्युको कारण खुलेको छैन । बैङ्क स्रोतका अनुसार उनको वरिपरि रगतका टाटा देखिएका छन् ।
उच्च रक्तचापका कारण मृत्यु भएको आशंका गरिएका फुयाँलको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको छ ।
शवको वरिपरी रगतका टाटा देखिएका कारण फुयाँलको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। विहान अबेरसम्म गार्डको कोठा नखुलेपछि ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको वैंकका कर्मचारीहरुले बताए । त्यसपछि प्रहरीलाई खवर गरिएको उनीहरुले जानकारी दिए ।
प्रहरी घट्नास्थल पुगेर बैंकको सीसीटीभी फुटेज हेर्दा राती करिव १२ बजेपछि नकावधारी ब्यक्ति वैंकभित्र पसेको देखिएपछि घट्ना शंकास्पद रहेको मृतकका आफन्त दुर्गा फुयाँलले बताए।
कोशी प्रदेश प्रहरी धरानबाट ट्रयाकिङ डग (तालिमप्राप्त कुकुरको) को टोली आईसकेको र थप प्रकृया अघि बढेको प्रहरीले जनाएको छ ।
मृतक फुयाँलका श्रीमती, २ छोरा र २ छोरी छन् । उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्दै आएका थिए ।



