मधेस प्रदेश समाचार समाज

१६ वर्षीया बालिका बलात्कार घटनाको मुद्दा मुल्तबीमा

राजविराज, जेठ १७ गते । सप्तरीमा १६ वर्ष ६ महिना १३ दिनकी बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय युवकविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ ।
बालिकालाई बलात्कार गरेको आरोप लागेका महादेवा गाउँपालिका ३ बलिया बथनाहाका २० वर्षीय कृष्ण मुखियाविरुद्धको मुद्दा बुधबार मुल्तबीमा राख्ने फैसला भएको हो ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश संजिब पोखरेलको इजलासले आरोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने अन्तिम निर्णय गरेको अदालतले जनाएको छ ।
आरोपितले २०७९ कात्तिक १७ गते राति बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कात्तिक १८ गते उजुरी दिएकी थिइन् । विदेश जानका लागि कात्तिक १८ गते काठमाडौं गइरहेकोले कात्तिक १७ गते राति स्वास्थ्य चौकी नजिक नहर छेउमा भेट्न बोलाई जबरजस्ती सिन्दुर लगाई बलात्कार गरेको पीडितले बताइन् ।
पीडितको स्वास्थ्य परीक्षण ०७९ कात्तिक १८ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भयो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०७९ मङ्सिर २७ गते उजुरी दर्ता गरेको थियो ।
आरोपितविरुद्ध ०७९ मङ्सिर २८ गते पक्राउ पुर्जी जारी भएको थियो । आरोपित भारततर्फ गएकोले गिरफ्तार हुन नसकेको भन्दै प्रहरीले ०८० कात्तिक १ प्रतिवेदन बुझाए पछि जिल्ला अदालतमा ०८० कात्तिक १७ गते अभियोग पत्र दायर भएको थियो ।

   

You cannot copy content of this page